खोटाङ, १० फागुन । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि वि.सं. २०७६ असार–३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो ।
समिट एयरको ढल्ब्ःन् विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक भट्टराईले लामीडाँडा विमानस्थलमा नियमित उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताउनुभएको थियो । तर, लामीडाँडा विमानस्थलमा परीक्षणपछि अहिलेसम्म नियमित उडान भएको छैन ।
वि.सं. २०२८ सालदेखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दाँया÷बाँया २८÷२८ मिटर कालोपत्र गरिएको गरिएको छ । ५२० मिटर लम्बाई र २० मिटर चौडाई रहेको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाईएनएस, एसएपी र सर्य कन्ट्रक्शन प्रा.लि.ले जेभीमा कालोपत्र गरेको हो ।
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर वि.सं.२०२६ सालदेखि निर्माण शुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि वि.सं. २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो ।
अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको लामीडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । कालोपत्र गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यता भएपछि स्थानीय बासिन्दा आक्रोसित भएका हुन् ।
तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवत–जावत गर्ने भक्तजन एवम् पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विकानस्थलको उडान कटौती गरेर राज्यले आफूहरुमाथि ठुलो अन्याय गरेको स्थानीयबासी एवम् नेपाली काँग्रेस रावाबेँसी गाउँपालिका कार्यसमितिका पार्टी सभापति फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा उडान कटौती हुनुमा राजनीतिकरण भएको छ”, उहाँले भन्नुभयो, “तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने घिनलाग्दो राजनीतिबाट सम्बन्धित राजनीतिक दलका नेता माथि उठ्न जरुरी छ ।”
लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको ठुलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल उपयोग बिहिन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना हुँदै आएको छ ।
लामीडाँडा विमानस्थलको उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको १ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले बताउनुभयो । “लामीडाँडा मेरै निर्वाचन क्षेत्र पर्छ । उक्त विमानस्थलमा उडान कटौती हुनु दुःखद विषय हो”, प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नं. १ (क)बाट निर्वाचित मन्त्री राई भन्नुभयो, “राज्यकोषको ठुलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान भर्नेगरी चाँडै सम्बन्धित निकायमा पहल गर्छु ।”
दश स्थानीय तह रहेको जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक पर्ने खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको रु. सात करोड २४ हजार ३८० लागतमा लामा बुईल्डर्स÷चाङ्मिला जे.भी. निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र रिफर गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रा.लि.ले नेपाल नागरिक उड्डयन प्राधिकरणको रु दश करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।


