खानेपानी आयोजनाले दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

Halesi Khabar

खोटाङ, ५ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकदेखि किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको हो । उक्त ढलान गरिएको सडकखण्डको विभिन्न ठाउँमा अहिले शहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम गरिरहेको छ ।

ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारी साधन तथा पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदल यात्रु तथा सवारी साधन खाल्डोमा पर्ने गरेका छन् ।

सडक ढलान गर्दा वारपार बिच्छ्याइएको फलामे रड टुक्रा पारेर खानेपानी आयोजनाको काम गर्दा उक्त सडक जीर्ण बन्दै गएको छ । ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिना रड गिटी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो ।

खानेपानी आयोजनाका कारण ढलान गरिएको सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा (माओवादी केन्द्र)का युवा नेता एवम् वाईसिएल खोटाङका इन्चार्ज मीलनचन्द्र राईले आरोप लगाउनुभयो । “दिक्तेल बजारको सडक ढलान यसअघि नै गुणस्तरहीन थियो”, उहाँले भन्नुभयो, “अहिले निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका कारण सडक जीर्ण बनेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने ठुलो दुर्घटना हुने सम्भावना छ ।”

खानेपानी आयोजनाको काम गर्दा भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउनेगरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “पहिले पाइप विस्तार गर्दा जडान गरिएका केही ठाउँहरुमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “पुरानै अवस्थामा आउनेगरी समस्याग्रस्त ठाउँहरुमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।”

नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागको रु पाँच करोड लगानीमा दिक्तेल बजारस्थित किराँच चोकदेखि मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजना अन्तरगत मानवअधिकार चोकदेखि हाटडाँडासम्मको बाँकी सडक अहिले ढलान भइरहेको छ ।

जिल्लाको सबैभन्दा ठुलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक÷पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।

निर्माणाधीन अवस्थामा रहेको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको पाइप दिक्तेल बजारको सडक ढलान हुनुअघि जडान गर्दा नै ठेकेदार कम्पनीले कमजोरी गरेको उपभोक्ताको आरोप छ । पुरानो खानेपानी आयोजनाको पाइप हटाइ सकिएकाले दिक्तेल बजारका कतिपय ठाउँमा अहिले पानी पुग्दैन ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारमा सञ्चालित पूरानो खानेपानी आयोजनाबाट करीब ८०० वटा धारा वितरण गरिएको थियो । पूरानो योजनाको धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।

लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारवासीलाई मध्यनजर गरेर रु २२ करोड ५५ लाख ५८ हजार लागतमा पूरा हुने खानेपानी आयोजना सञ्चालन गरिएको उपभोक्ता समितिले जनाएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ आयोजनाको काम शुरु गरिएको हो ।

निर्माणाधीन खानेपानी आयोजना परीक्षणका क्रममा रहेको र चाँडै उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ । निर्माणाधीन आयोजना सञ्चालन भएपछि मिटरमार्फत उपभोक्ताको घरमा चौबीसै घण्टा खानेपानी उपलब्ध हुने उपभोक्ता समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया