ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय चालकको मृत्यु, ट्याक्र धनी गम्भीर घाइते

Halesi Khabar

खोटाङ, २ फागुन । हलेसी तुवाचुङ नगरपालिकामा आज (सोमबार) ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने, एकजना गम्भीर घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित भित्री सडकमा गुडिरहेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिकाको वडा नम्बर–१०, नवलपुर बस्ने १४ वर्षीय सिटामोल भनिने शेखर मगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर धनी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । दुर्घटनाका गम्भीर घाइते राईको जिल्लास्थित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

गुडिरहेको ट्याक्टर आफैँ अनियन्त्रित भइ पल्टिएर सडकबाट करीब ७५ मिटर तल खसेको दुर्घटनाका प्रत्यक्षदर्शीले बताएका छन् । मृतक मगरको शव कानूनी प्रक्रिया पूरा गरेर परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौध वर्षीय बालकले ट्याक्टर चलाइरहेको अवस्थामा दुर्घटना भएको भन्ने खुलेपछि थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित अधिकांश ट्याक्टर चालकको सवारी चालक अनुमतिपत्र नरहेको समाचार स्रोतले जनाएको छ । यस विषयमा नियमन निकाय तथा ट्राफिक प्रहरीसमेत मौन रहेको स्रोतको दाबी छ ।

यसैबीच, भीरबाट लडेर जन्तेढुङ्गा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको मृत्यु भएको छ । आइतबार साँझ केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बीउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको घटनास्थलमै ज्यान गएको हो ।

भीर नजिकैको गोरेटो बाटोबाट करीब ६० मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । अबेरसम्म घर आइनपुगेपछि इन्द्रकलाको श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति करीब ९ बजे शव फेला परेको हो ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरेर शव परीक्षणका लागि आज (सोमबार) प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ । घटनाको थप अनुसन्धान आगडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया