खोटाङ, ११ माघ । साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्ज्याङस्थित मखमलेका कृषक समूहले उत्पादन गरेका रेन्बो ट्राउटलाई बजार अभाव भएको छ । पर्यटकीयस्थल तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रुपमा विकास गर्दै कृषि पर्यटनको विकास गर्न मखमलेका स्थानीय बासिन्दाले रेन्बो ट्राउटको व्यवसायिक पालन शुरु गरेका हुन् ।
रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने श्रोतकेन्द्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले शुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले करीब आठ क्विन्टल बिक्री गर्न लायक रेन्बो ट्राउट माछा छन् । केही समयपछि फिसिङ तथा अर्डर अनुसार पोखरीस्थलमै पकाएर खान मिल्नेगरी उपलब्ध गराउने कृषक समूहको तयारी भएपनि अहिले उक्त माछालाई बजार अभाव देखिएको छ ।
भुरा हालेको वर्ष दिनमा रेन्बो ट्राउट माछा बिक्रीयोग्य बनेपछि अहिले पोखरीबाटै प्रतिकेजी रु एक हजार ५०० का दरले बिक्री गर्न शुरु गरिएको लगानीकर्ता निशन राईले बताउनुभयो । “फर्ममा अहिले करीब ८०० केजी बिक्री गर्न लायक भएका माछा छन्”, उहाँले भन्नुभयो, “बिक्री गर्न लायक भएका माछाले दैनिक रु तीन हजार ५०० भन्दा बढीको दाना खान्छ । समयमा बिक्री नहुँदा घाटा हुने सम्भावना बढेको छ ।”
आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यवसायिक रुपमा पालन शुरु गरिएको रेन्बो ट्राउट फर्ममा अहिले दक्ष प्राविधिकसहित दुईजना हेरालु कामदार कार्यरत छन् । दक्ष प्राविधिकलाई मासिक रु १८ हजार र हेरालुलाई रु मासिक १२ हजार तलब दिने व्यवस्था गरिएको कृषक समूहले जनाएको छ ।
रेन्बो ट्राउट पालनका लागि १९ वटा (रेस–वे) पोखरी र फिल्टर ट्याङ्क निर्माण गरेर २०७७ चैत–६ गते १५ हजार भुरा हालिएको थियो । आथिक वर्ष २०७७÷०७८ मा खिदिमाको मखमलेमा रु ५० लाख दश हजारको लगानीमा स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर रेन्बो ट्राउट पालन शुरु गरिएको हो ।
वि.सं. २०७४ सालमा खिदिमाका स्थानीय आफैले रु नौँ लाख उठाएर गरेर रेन्बो ट्राउट पालनका लागि काम थालेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकार अन्तरगतको मत्स्र्य विकास निर्देशनालयको रु २५ लाख, वडा कार्यालयको रु पाँच लाख, गाउँपालिकाको रु चार लाख र तावाहाङ रेन्बो ट्राउट कृषक समूहको रु १६ लाख दश हजार लगानीमा रेन्बो ट्राउट पालन शुरु गरिएको हो ।
कृषक समूहको एक्लो प्रयासमा पोखरी निर्माण सम्पन्न नहुँदै भुरा ल्याइएपछि घाटा बेहोरेको तावाहाङ रेन्बो ट्राउट कृषक समूहले पुनः मत्स्य विकास निर्देशनालय, गाउँपालिका र वडा कार्यालयको सहयोगमा रु ५० लाखको योजना बनाएर १९ वटा पोखरी निर्माण गरिएको छ । सबै पोखरीमा
पर्यटकीयस्थल तावाभञ्ज्याङ नजिकै रहेकाले रेन्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृतिम तालका लागि गत वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको थियो”, उहाँले भन्नुभयो, “करीब रु ५६ करोड लागतमा कृतिम ताल निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।”
पर्यटन प्रवद्र्धनका लागि तावा खोलाको शिरमा रहेको तावाभञ्ज्याङमा बाँध हालेर कृत्रिम ताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नम्बर प्रदेशकै नमूना तथा ठूलो कृतिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।
समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा साँढे ६०० मिटर लम्बाई र ५०० मिटर चौडाई रहनेगरी कृतिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृतिम ताल निर्माण हुने भएपछि स्थानीयवासी समेत हर्षित बनेका छन् ।


