खोटाङ, १९ मंसिर । खोटाङमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै फोटो सहितको मतदाता नामावली संकलन अभियान सुरु गरिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा शुक्रबारदेखि केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मतदाता नामावली संकलन अभियान सुरु गरिएको हो ।
‘कोही नछुटुन्, कोही नदोहोरिउन’ भन्ने नारासहित पहिलो चरणको मतदाता नामावली सङ्कलनको काम आगामी २६ मंसिरसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय खोटाङका कार्यालय प्रमुख कोपिला राईले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ईलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकामा भने अभियान सञ्चालन गरेर मतदाता नामावली संकलन सुरु गरिएको हो ।

फोटो सहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइएको छ । चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाएको छ भने सम्वन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति (दर्ता स्थल व्यवस्थापक), एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी जुटाइएको छ ।
दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन हुने छन् । दोश्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उता, जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर-१ देविस्थानमा २४ र २५ गते वडा नम्बर-२ बोपुङमा २२, २३ वडा नम्बर-३ काहुलेमा १८,१९ वडा नम्बर-४ डम्बर्खुसिवालयमा १९,२० गरिने बताइएको छ । यस्तै, वडा नम्बर-५ चिसापानीमा १७ र १८ गते फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु भइसकेको छ भने वडा नम्बर-६ दिप्लुङमा २० र २१ गते फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु गरिने जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवनराज पोखरेलले हलेसी खबरलाई जानकारी दिनुभयो ।


