केपिलासगढीले शुरु ग¥यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

Halesi Khabar

खोटाङ, १३ मङ्सिर । केपिलासगढी गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेको छ । गाउँपालिकाको रु एक करोड ७६ लाख ५४ हजार ९२० लागतमा निर्माण सम्पन्न गरिएको तीन तला भएको १३ कोठे सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवनबाट सोमबारदेखि सेवा प्रवाह शुरु गरेको हो ।

सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा, उपशाखाहरू समेटिएको जनाइएको छ । सेवा लिन गाउँपालिका आउने महिला र पुरुषको लागि छुट्टाछुट्टै नौँवटा सौचालयसमेत रहेको गाउँपालिकाको प्रशासनिक कार्यालय भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ देखि बहुवर्षीय योजना बनाएर विनियोजन गरिएको बजेटमार्फत सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिनुभयो । “प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको दैनिक सेवा प्रवाह आफ्नै सुविधा सम्पन्न भवनबाट शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेपछि सेवाग्राहीलाई समेत सहज भएको महसुस गरेका छौँ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको करीब पाँच वर्षसम्म तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी माविको जीर्ण भवनबाट गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह हुँदै आएको थियो । निर्माण शुरु गरिएको करीब चार वर्षमा सम्पन्न गरिएको प्रशासनिक भवन गाउँपालिका प्रमुख कृष्णकुमार राई र उपप्रमुख हीराकुमारी वन (गिरी)ले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको प्रेस सेन्टर नेपाल खोटाङका सहसचिव कोशीकुमार राईले जानकारी दिनुभयो ।

नवनिर्मित प्रशासनिक भवनमा गाउँपालिका प्रमुख, उपप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एट्याच ट्वाइलेट र वाथरुम (कोठाभित्रै सौचालय र नुहाउने ठाउँ)समेत रहेको छ । सेवाग्राही तथा अन्य कर्मचारीका लागि तीनवटै तलामा महिला र पुरुष छुट्टाछुट्टै सौचालय राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पुरानै भवनमा सञ्चालित स्वास्थ्य, कृषि र पशु शाखाका लागि समेत नयाँ व्यवस्था मिलाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ । उक्त शाखाहरुको लागि नवनिर्मित भवन नजिकै रहेको पशु सेवा केन्द्रको भवन मर्मत गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि सातवटा स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह शुरु गरिसकेको छ । बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले यसअघि नै आफ्नै प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

साकेला र ऐसेलुखर्क गाउँपलिकामा निर्माणाधीन रहेको जनाइएको छ । ऐसेलुखर्कको गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन भने, ठेकेदार कम्पनीको लापरवाहीले निर्माणको काम औपचारिक रुपमा पत्राचार गरेर रोक लगाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिनुभएको छ ।

आफ्नै प्रशासनिक कार्यालय भवन नभएको साकेला गाउँपलिकाको पशु सेवा केन्द्र मात्तिम तथा ऐसेलुखर्क गाउँपालिकाको भाडाको घरबाट दैनिक सेवा प्रवाह भइरहेको छ । ऐसेलुखर्क गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा वार्षिक लाखौँ रकम स्थानीय घर धनीलाई बुझाउनुपर्ने बाध्यता रहेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया