खोटाङ, ३० कातिक । नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । संघको आठौ जिल्ला अधिवेशनवाट घिमिरे सर्वसहमत अध्यक्षमा चयन भएका हुन्।
सोमबार जिल्ला समन्वय समितिको नयाँ हलमा सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति छनोट गरेको छ । युनियनको खुल्ला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् ।
सचिवमा शम्भु तामाङ, सह-सचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल सर्वसहमत चयन भएकका छन् । अधिवेशनले पाण्डव घिमिरे, भगत प्रसाद आचार्य, अनिल आचार्य र इरन राईलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ ।
‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशनको नेपाली कांग्रेसका महासमिति सदस्य रवि प्रकाश राईले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनका अवसरमा युनियनमा प्रवेशदेखि नै लामो समय काम गरी युनियनमा सक्रिय रहि युनियनलाई पुर्र्याएको योगदानको उच्च सम्मान गर्दै निजामती सेवाबाट अवकास लिई निवृत जिवन विताई रहनु भएका पूर्व कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने युनियनको अध्यक्ष पदमा रहंदा रहदै सरुवा भई बाहिरी जिल्ला जानु भएका तयन्द्र कुमार राईलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


