खोटाङ, २९ कातिक । नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
सभापतिमा उम्मेद्वारी दिने तयारी सँगै राईका समर्थकले सामाजिक सञ्जालमार्फत पक्षमा प्रचार-प्रसार सुरु गरेका छन् । ‘अग्रजको सम्मान-युवाहरुको बिश्वास, खोटाङ सभापतिमा रविप्रकाश!’ भन्ने नारा लिएर राई सभापतिको चुनावी दौडमा अघि सरेका हुन् । अन्य पदाधिकारीको केही दिनपछि टुंगो लगाइने सभापतिका उम्मेद्वार राईले बताए । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।
अधिबेसन मिति नजिकिँदै जाँदा जिल्लामा कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा भइरहेको छ । कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिबेसनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले २६ कात्तिकमा खोटाङबजारमा भएको आफु पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् ।
भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह-सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए । अन्य पदमा उठ्ने उम्मेद्वारको टुंगो केही दिनभित्र टुंग्याइने जनाइएको छ ।
२३ कात्तिक र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसकै एक पक्षको बैठकले पुर्व जिल्ला सभापति बिष्णुकुमार राईलाई सभापतिको उम्मेद्वार बनाउने निणर्य गरिसकेको छ । उनी केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् ।
उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईलाई अघि सार्ने निणर्य भएको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् ।
सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उठाउने तयारी गरिएको छ । यस्तै, सह-सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको छ ।
कांग्रेसको जिल्ला सभापतिमा पुर्व राज्यमन्त्री सर्वधन राई पनि आकांक्षी छन् । पुर्व राज्यमन्त्री राईले ११ कात्तिकमा दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेद्वारीबाट व्याक नहुने बताएका थिए । प्रदेश क्षेत्र (क) र (ख)को अधिबेसनको नतिजा अनुसार जिल्लाको समिकरण फेरबदल हुनसक्ने आँकलन गरिएको छ ।


