खोटाङ, २७ कातिक । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरेर बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीको अवसर पारेर हप्ता दिनसम्म लाग्ने बराहपोखरी मेलालाई लक्षित गरेर उक्त दुवै गाउँपालिकाले कातिक–२८ र २९ गते दुई दिन सार्वजनिक बिदा दिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । बराहपोखरीमा लाग्ने मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिको तर्फबाट स्वयम्सेवकसमेत परिचालन गरिएको छ ।
बराहपोखरीमा लाग्ने मेलामा हुन सक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा पनि अझै कायमै रहेको छ”, उहाँले भन्नुभयो, “बराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन । स्वास्थ्य सर्तकता अपनाएर मेला लगाउन प्रशासनको तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौँ ।”
बराहपोखरीमा लाग्ने धार्मिक मेलामा विशेषगरी दिबङ्गत भएका आफ्ना आफन्तको नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ रातो माछासमेत पाइन्छ ।
समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा मेला लाग्ने गरेको छ । बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दश वटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चिन, भुटान लगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।
परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ)बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजाआराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।
जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि बराहपोखरीको पानीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।
विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बृद्धि हुँदै गएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले बताउनुभयो ।
बराहपोखरीसम्म सडकको पहुँच पुगेसँगै अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ३०० को हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ ।
डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । यो बराहपोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा घोषणा गरेर पर्वद्धनको कामसमेत थालेको छ ।


