काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभासमेत गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरेका छन् । उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताएका छन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताउनुभयो । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभइ यो संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उनको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्दा देश बर्बादीतर्फ जाने भएकाले जनतामा जानुको विकल्प नभएको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रीत हुने गरी पार्टी एकता गरिएपनि ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिले मुलुक उल्टो दिशामा गएको स्वीकार गर्नुभयो ।
‘हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौँ,’ उहाँले भन्नुभयो, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नुपर्थ्यो, हामीले गर्न सकेनौँ, यसमा म तपाईंहरुसामु आत्मालोचना गर्छु ।’

प्रचण्डले ओली प्रवृतिको चर्को विरोध गर्दै ओलीमा पनि राजा महाराजा प्रवृति देखिएकाले त्यस्तो प्रवृतिलाई जनताले परास्त गरेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो । ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ,’ प्रचण्डको भनाइ छ ।
त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले आशंका गरेपनि त्यो सम्भावना नरहेको बताउनुभयो । उहाँले सिंगो देश ओलीका विरुद्ध रहेको भन्दै ओलीसँग अरिङ्गाल र साइबर सेना मात्रै रहेको दावी गर्नुभयो ।
‘ओलीको विरुद्धमा सिंगो देश उभिएको छ । ओलीको पक्षमा साइवर सेना र अरिंगालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिंगाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन् अध्यक्ष नेपालको भनाइ छ ।
उहाँले ओलीसँग मिल्छन् कि भन्ने आंशकाको पनि खण्डन गर्नुभयो । ‘अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् ? कतै मिल्ने त हैनन् ? कतै हामीलाई धोका त दिने हैनन् ? हामी मूल्यको राजनीति गर्छौँ । हामी विचारको राजनीति गर्छौँ,’ नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको गुनासो पनि गर्नुभयो । ‘ओलीले ५० वर्षसम्म हैरान पारे, दुःखमात्रै दिनुभयो । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौँ तर भएन,’ नेपालले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले आधिकारिक नेकपा प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी नै भएको भन्दै त्यसका लागि जनता को सँग छन् भन्ने हेर्न सडकमा आउन निम्ता दिनुभयो ।
‘म केपी ओलीलाई कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न निम्ता गर्न चाहन्छु’, नेता खनालले चेतावनी दिनुभयो । उहाँले ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने भन्दै ओलीलाई कम्युनिस्ट आन्दोलनका घातका तत्व भएको टिप्पणी गनुभयो ।
उहाँले सबैतिर ओलीले सेटिङ मिलाएको भनेर सुन्ने गरेको भन्दै ओलीको सेटिङ र जालझेल सफल नहुने दावी गर्नुभयो । ‘ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ’, भुषालले भन्नुभयो, ‘२१औं शताब्दीमा सेटिङमा अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ भोलि पराजित हुनुहुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक र व्यवहारिक रुपमा विभाजित छ । प्रधानमन्त्री समेत रहेका ओलीले एक पक्ष नेकपाको नेतृत्व गरिरहेका छन् भने अर्को पक्षको ‘प्रचण्ड’ र नेपालहरुले गरेका छन् ।


