अत्तरिया । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताए ।
राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उनले कर्मचारीले गैरजिम्मेवार बन्न नहुनेमा जोड दिए । उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भने, गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।
कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले समायोजनको काम नसकिएसम्म भर्ना खोल्ने बाटो नखुल्ने भउकाले असारसम्म टुङ्ग्याउन जरुरी रहेको उल्लेख गरे ।
मन्त्री पण्डितलाई कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कामको चटारोको बेला कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरेका थिए । यसैगरी आजै बिहान जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा मन्त्री पण्डितले यहाँका कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।


