सुन्दर देखिन दबाव आएपछि यस्तो अवतारमा हबिबा

Halesi

महिलाको रूपमा हामीले प्रायस् आफ्नो सुन्दर पक्षलाई देखाउनु पर्ने बाध्यता हुन्छ, बाङ्ग्लादेशका महिलालाई सुन्दर देखिनुपर्ने दबावका बारेमा २९ वर्षीया फोटोग्राफर हबिबा नौरोस भन्छिन्। राम्री बन्ने बाटोमा हामीलाई हाम्रो व्यक्तित्व, कथाहरू र आघातहरू छोड्न लगाइन्छ।हामी आफ्नै लागि पनि अज्ञात बन्छौँ र हाम्रो परिचय लुकेर बस्छ।

हबिबाका फोटोमा महिलाहरू उज्याला र रङ्गीन देखिन्छन्, तर उनीहरूको अनुहार पूरै छोपिएको हुन्छ। छोपिएको अनुहारले महिलाहरू सुन्दर बन्न गर्ने प्रयास गरे पनि हराउन पुगेको आफ्नोपनको प्रतिनिधित्व गर्छन्। हबिबा बाङ्ग्लादेशी महिलाहरूले अरूलाई खुसी राख्न आफ्नोपनलाई कसरी बिर्सनुपर्छ भन्ने कुरा देखाउन चाहन्छिन्। बीबीसी बाङ्ग्लासँग कुरा गर्दैन हबिबाले एउटा नमीठो व्यक्तिगत अनुभवले यस्तो फोटो खिच्ने सोच आएको बताएकी छन्।

जब मैले विश्वविद्यालयको पढाइ सकेँ तब मानिसहरूको मबाट धेरै अपेक्षा रहेको पाएँ। मैले बिहे गर्नुपर्थ्यो, बच्चा जन्माउनुपर्थ्यो, र राम्रो तलब आउने जागिर खानुपर्थ्यो। मैले धेरै महिलामाथि त्यस्तो भएको देखेको छु र यसरी हामी आफूलाई के चाहिएको छ भन्ने बिर्सिन बाध्य बनाइन्छ।

फोटोग्राफरको काम गर्न थालेको पहिलो वर्ष हबिबाले जति काम गरे पनि त्यो यथेष्ट नभएको पाइन्।यदि तपाईँ महिला हुनुहुन्छ र आफूलाई प्रमाणित गर्न चाहनुहुन्छ भने पुरुषभन्दा दोबर काम गर्नुपर्ने बाध्यता छ।हबिबालाई आफू जालमा परेको महसुस भयो। मलाई लाग्यो म आफूलाई व्यक्तिको रुपमा बिर्सिरहेको छु। र मैले त्यसपछि आफू खुसी हुने काम गर्न थालेँ र आफूप्रति इमान्दार भएँ।

छ वर्षपछि उनले एउटा शृङ्खलामा काम गर्न थालिन्। नाम थियो- कन्सील्ड अर्थात् लुकाइएको। मैले मेरो नराम्रो अनुभवलाई अस्वीकार गर्न र अरू मानिसको अपेक्षालाई उपेक्षा गर्न सुरु गरेकी थिएँ, उनी भन्छिन्।सन् २०१६ मा ढाकामा आफ्नो कामको प्रदर्शनी गर्न थालेपछि उनको कामलाई धेरैले उत्सुकतापूर्वक लिए। तर कला समुदायको सबै महिलाहरूले उनको सन्देश बुझे पनि पुरुषहरूलाई भने व्याख्या गर्नुपर्ने उनको अनुभव छ।

महिलाहरू आफ्नो अनुभवका कारण मेरो कार्यसँग सोझै जोडिए तर पुरुषहरूमा त्यस्तो भएन। हबिबाका अनुसार बाङ्ग्लादेशमा धेरै महिला फोटोग्राफर छैनन्। त्यसैले महिलाको कुरा कलामा देखिँदैन तर यो बिस्तारै परिवर्तन हुँदैछ।यो व्यवसायको सबै पक्षमा यस्तो महसुस हुँदैन होला, तर केही व्यक्तिहरूले फोटोग्राफीमा महिलाहरूको योगदान देख्न थालेका छन्,  उनी भन्छिन्।

बीबीसी बाङ्ग्लाका स्यादुल इस्लामले लिएको अन्तर्वार्तामा आधारित।

तपाईको प्रतिक्रिया