काठमाडौं। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। गत शनिबार काभ्रेमा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकीछोरी विपनाले गत बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।यही आदेशअनुसार बुधबार सर्वोच्चमा उपस्थित गराइएका ओलीको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासले खारेज गरेको हो। उनलाई सम्बन्धित जिल्ला अदालतमै पठाउने आदेश पनि न्यायाधीशद्वयले गरेका छन्।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका गतिविधि नियन्त्रण गरिसक्ने घोषणा गरेका छन्।


