दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहेनत गर्नुपर्छ – मन्त्री मगरको

Halesi

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिएकी छिन्।

खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छिन्। उनले खानेपानी र सरसफाईजस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहेनत गर्नुपर्ने औंल्याइन्।

मन्त्री मगरले भनिन्, ‘मन्त्रालयको यो दोस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ। तर, यतिले मात्रै पुग्दैन। हामीले लक्ष्य पूरा गर्न धेरै सङ्घर्ष गर्नुपर्ने छ। सबै जनतालाई सुरक्षित खानेपानीको सर्वसुलभ पहुँच पुर्‍याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन।

बजेटमा निर्धारित योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउन समेत मन्त्री मगरले मन्त्रालय मातहत रहेका निकायहरुलाई निर्देशन दिइन्। मन्त्रालयको अष्ठमासिक अवधिसम्मको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया