ताराचन्द्र वस्नेत, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा विहीबार गरिएको संयुक्त अनुगमनका क्रममा एउटै औषधि पसलबाट म्याद नाघेका १ हजार ४७६ रुपैयाँ बराबरको औषधि फेला परेको हो।
अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका औषधि जफत गरेर नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। खोटाङ बजारमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमध्ये एउटा औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको हो। म्याद गुज्रेका औषधि बिक्री गर्ने पसलको नाम र औषधिको प्रकार खुलाइएको छैन। औषधि नै म्याद नाघेको फेला परेपछि जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको खुलेको छ।
घरेलु तथा साना उद्योग विकास समितिले औषधिजन्य, कस्मेटिक र चिसो पेयपदार्थको समूह बनाएर विहीबार उपभोग्य सामानको अनुगमन गरेको हो। अनुगमनका क्रममा म्याद नाघेका कस्मेटिकका १ हजार २६० र चिसो पेयपदार्थ अन्तरगतका ४ हजार ८५५ रुपैयाँ बराबरको सामान फलत गरेर नष्ट गरिएको छ। ईलाका प्रशासन कार्यालय खोटाङबजार, ईलाका प्रहरी कार्यालय खोटाङ बजार, उद्योग बाणिज्य संघ खोटाङबजारका प्रतिनिधि लगायतको सहकार्यमा बजार अनुगमन गरिएको हो।


