काठमाडौं । खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।
मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ, उनले भनिन्, कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो ।
स्प्रिङवाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशनसमेत दिइन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।


