चिया मजदूर आन्दोलित, माग पुरा नभएसम्म घर नफकिर्ने

Halesi

भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले संयुक्तरूपमा आर्थिक वर्ष २०७५/७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन थालेका हुन् ।

उनीहरुले आज सबै चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका थिए ।गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायत नारा लेखिएका ब्यानरसहित निकालिएको र्याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले चिया बगान र कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा चासो नदिएकाले आन्दोलित हुनुपरेको बताउनुभयो । सरकारले तोकेको न्यूनतम ज्यालाबमोजिम चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक दैनिक रु २३१ तथा महङ्गी भत्ता रु १५४ पाउनुपर्ने हुन्छ । सो ज्याला नपाएपछि चिया मजदूर पुन आन्दोलित बनेका हुन् ।

अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले मजदूर र बगान मालिकबीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द हड्तालमा उत्रनु परेको बताउनुभयो । उहाँले कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेकाले मजदूरले अनिश्चितकालीन तालाबन्दीसहित आन्दोलन गर्नुपरेको बताउनुभयो ।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलित बनेका छन् । मजदूरले यही चैत १८ गते आफू कार्यरत बगानमा औजारसहित बृहत् जुलुश प्रदर्शन गर्ने, १९ गते विर्तामोडमा तथा २१ गते काँकडभिट्टामा विरोधसभा गर्ने कार्यक्रम रहेको मजदूर नेता दीपक तामाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया