प्रश्नपत्रबाहिर ल्याउने पत्ता लाग्ने सिआइबीको दाबी

Halesi

सप्तरी । प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ ।

यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुईतीन दिनमै पत्ता लाग्ने दाबी गरेको छ । अनुसन्धानमा खटिनुभएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयो, तीव्रताका साथ अनुसन्धान भइरहेको छ, प्रश्नपत्रबाहिर ल्याउने कार्यमा संलग्नहरुको अनुसन्धान गर्दै जाँदा २०औँ २५औँ लेयरसम्म पनि पुग्नुपर्ने हुन्छ तर जति लेयर भए पनि पत्ता भने लाग्छ ।

आइटी विशेषज्ञसहित सप्तरी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टसहितको २० जनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानलाई तीव्र बनाएको टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलमा प्रश्न आदानप्रदान गर्ने सप्तरीका शिक्षक, पत्रकार, विद्यार्थी र अभिभावकहरुसँग सोधपुछ गरी अन्तिम प्रयोगकर्तासम्म पुग्ने प्रयास गरिरहेको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शुक्रबारदेखिका परीक्षा स्थगन गर्दा प्रदेश नं २ का ७० हजार ५६८ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

तपाईको प्रतिक्रिया