एसइईमा खोटाङका १०८ विद्यार्थी अनुपस्थित

Halesi

खोटाङ, १० चैत ः एसइई परीक्षामा खोटाङका १०८ विद्यार्थी अनुपस्थित भएका छन् । आईतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन नियमिततर्फ ७६ जना र आंशिकतर्फ ३२ विद्यार्थी अनुपस्थित भएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नियमिततर्फ तीन हजार ८०३ जना र आंशिकतर्फ १३० विद्यार्थीले एसईई परीक्षाका लागि फर्म भरेका थिए । एसइई परीक्षामा जिल्लामा प्राविधिक शिक्षातर्फका ९३ विद्यार्थी पनि सामेल भएका छन् । रेगुलरतर्फका कुल विद्यार्थीमध्ये पञ्च मावि दिक्तेलका कृषि प्राविधिकतर्फका ४५ जना र सिम्पानी माविका कम्प्यूटर प्राविधिकतर्फका ४८ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएका शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताउनुभयो ।

दुई दृष्टिबिहीन छात्रा एसइई दिँदै
खोटाङबाट दुई दृष्टिबिहीन छात्राले एसइई परीक्षामा सहभागिता जनाएका छन् । पञ्च मावि दिक्तेलबाट दृष्टिबिहीन छात्रा यामकुमारी विश्वकर्मा र कोपिला मगरले एसइई परीक्षा दिएकी हुन् । उनीहरुसँगै पञ्च माविकै अपाङ्ग खगेन्द्र राईले पनि एसइई परीक्षा दिइरहेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ । उनीहरु सहयोगीमार्फत परीक्षामा सामेल भएका हुन् । एसइई परीक्षाका लागि खोटाङमा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षा शान्त र मर्यादित वातावरणमा भइरहेको प्राविधिक सहायक विश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया