खोटाङ, ८ चैत ः सामुदायिक वनबाट सल्किएको डढेलो गाउँ पस्दा घर आगलागी भएपछि बिचल्लीमा परेका रोवाबेँसी गाउँपालिका–५ दुवेकोल र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका पीडित परिवारका लागि राहत जुट्नेक्रम शुरु भएको छ । गत चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका दुवेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र माक्पाका तोमबहादुर निरौलालाई राहत रकम जुट्नेक्रम शुरु भएको हो ।
डढेलोले घर जलेपछि कष्टकर जीवन विताइरहेका दुवेकोल र माक्पाका अग्नी पीडित परिवारका लागि शुक्रबार रु एक लाख २० हजार राहत रकम प्रदान गरिएको छ । दुवेकोल घर भई रोजगारीको सिलसिलामा हाल बेलायतमा रहनुभएका मोहन गुरुङ र उहाँकी श्रीमती यशोदा गुरुङबाट एक मुष्ट ६० हजार तथा स्थानीयवासीले संकलन गरेको ६० हजार रकम प्रदान गरिएको हो । यस्तै, एक्सिस इन्टर प्राइजेज प्रा.लि.का टेकप्रसाद घिमिरेले आगलागी पीडित परिवारका विद्यार्थीका लागि रु छ हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । पीडित परिवारका लागि व्यक्ति तथा संस्थामार्फत प्राप्त संकलित राहत रकम र सामग्री गाउँपालिका प्रमुख लिलानाथ निरौलाले शुक्रबार हस्तान्तरण गर्नुभएको छ ।
यसअघि आगलागी पीडित परिवारका लागि गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत बन्दोबस्तीका सामग्री प्रदान गरेको थियो । अहिले आफन्तको शरण तथा छिमेकीले बनाइ दिएको टहरामा बस्दै आएका उनीहरुका लागि स्थानीयवासीले चन्दा उठाएर र अन्न संकलन गरेर सहयोग गरिरहेका छन् । आगलागी पीडितका लागि बिहीबार प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको गरेको थियो । प्रतिपरिवार रु पाँच हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताउनुभएको छ ।


