पुर्व एमालेबाट निर्वाचित उपाध्यक्ष चौधरीले दिइन् ४८ बर्षमा कक्षा ८ को परिक्षा

Halesi

लमही। पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि गर्छ ।

वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न हुनुभएको हो । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाड्नुभएका उहाँ यसै वर्ष कक्षा ८ मा भर्ना हुनुभएको हो ।उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ, उहाँले भन्नुभयो, त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उहाँको भनाइ थियो ।

धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिक्नुभएकी उहाँलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ । अन्य विषय भने सजिलै लागेको छ । गाउँपालिकाको उपाक्षध्यको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उहाँको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया