काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ । चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा आज छड्के अनुगमन गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनमा डिल्लीबजारस्थित मालपोत कार्यालयका तीन कर्मचारी समय पालना नगरेका र १० जना कर्मचारी तोकिएको पोशाक नलगाएका भेटिएका छन् । यस्तै चावहिलस्थित मालपोत कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने, एक कर्मचारी तोकिएको पोशाक नलगाउने, मैतीदेवीस्थित नापी कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने तथा तीन जना पोशाक नलगाउने भेटिएका छन् ।
उहाँले सेवाग्राहीले समयमा कर्मचारी नआउने र पोशाक नलगाउने गर्नाले कर्मचारी हो वा विचौलिया हो भनेर छुट्याउन नसकिएको गुनासो आएपछि अनुगमन गरिएको बताउनुभयो । कर्मचारीले पोशाक नलगाउँदा कर्मचारी हो वा विचौलिया हो भनेर सेवाग्राहीले छुट्याउन सक्दैनन्, उहाँले भन्नुभयो, अनि कर्मचारीबाट पनि विचौलियाको काम हुन सक्दछ ।


