खोटाङ, ५ चैत्र– जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न व्यक्ति तथा समूहहरु सँग रहेको हतियार बुझाउन समयसिमा दिएको छ । अनुमति लिएर वा नलिई प्रयोग गरिरहेका हातहतियार तथा खरखजनाहरु नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन सार्वजनिक सूचना आह्वान गरेको हो ।
यसअघि प्रशासनले ०७५ माघ २८ गते सूचना प्रकाशित गर्दै हातहतियार बुझाउन आह्वान गरेको थियो । पुनः प्रशासनले चैत्र १ गते सूचना जारी गर्दै ३५ दिनभित्र हतियार बुझाउन आग्रह गर्दै नबुझाए कानूनअनुसार कारवाही गर्ने जनाएको छ । नेपाल सरकार मन्त्रीपरिषदको ०७५ फागुन २८ गतेको निर्णय बमोजिम अवैध हातहतियार बुझाउने गरी सार्वजनिक सूचना जारी गर्ने निर्णय भए बमोजिम सूचना आह्वान गरिएको हो ।


