अग्नी पीडितलाई राहत देऊ –प्रदेश सांसद राई

Halesi

बिराटनगर, ४ चैत्र–प्रदेशसभा सांसद राजन राईले खोटाङका रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका अग्नी पीडितलाई राहत दिनका लागि संघीय सरकार समक्ष आवाज उठाएका छन् । खोटाङबाट निर्वाचित प्रदेश सांसद राईले सोमबार भएको १ नम्बर प्रदेशसभाको जारी हिउँदे अधिबेसनमा ‘शुन्य’ समयमा शुक्रबार भएको आगलागीबाट विस्थापित भएको पाँच अग्नी पीडित परिवारलाई राहत दिलाउनका लागि आवाज उठाएका हुन् ।

घट्नाको गम्भीरतालाई प्रदेश संसदको ध्यानाकर्षण गर्दै सरकार सामु पीडितलाई अभिलम्ब राहतको माग गर्दछु, प्रदेशसभा सदस्य राईले भने, प्रदेशसभाको सदस्यको रुपमा मात्र नभएर सत्तारुढ दलको केन्द्रीय सदस्यको हैसियतले पीडित परिवारलाई राहत दिनका लागि संघीय सरकार समक्ष पनि माग गर्दछु । यो आग्रह समग्र जनसमुदायको लागि पनि हो भनी बुझिदिनु हुने अपेक्षा गरेको छु ।

स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनमा लागेको डढेलोको लप्काले रावाबेँसी गाउँपालिका–५ दुबेकोलका गोपाल पाण्डे, युवराज पाण्डे, भीम पाण्डे, अभिकेशर पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलाको घर नष्ट भएको थियो ।

डढेलोले घर जल्दा गोपालको ६ जनाको, युवराजको ६ जनाको, भीमप्रसादको ५ जनाको र अभिकेसरको ४ जनाको परिवारको विचल्नी भएको भन्दै प्रदेशसभा सांसद राईले पिडितलाई तत्काल राहत दिलाउनका लागि प्रदेश सरकार समक्ष माग गरेका छन् ।

प्रदेशसभा सांसद राईले अग्नी पीडित स्थानीयलाई राहत दिनका लागि प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्की समक्ष पनि सहयोगको आग्रह गरिएको बताए । सांसद राईले ज्यानको बाजी थालेर आगो निभाउनमा खटिएका स्थानीयबासी, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया