खाल्डोमा जमेको पानीमा डुबेर नावालिकाको मृत्यु

Halesi

खोटाङ, खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नावालिकाको मृत्यु भएको छ । महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए । सडकको कल्भर्ट बनाउनेक्रममा आवश्यक पानी जम्मा गर्नका लागि ठेकेदारले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको हो । खेल्नेक्रममा शनिबार पानी जमेको खाल्डोमा डुबेका बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

खाल्डोमा जमेको पानी सडक निर्माणकोक्रममा प्रयोग गरेपछि स्थानीयले गाईबस्तुलाई खुवाउन र सागसव्जीमा हाल्नका लागि उपयोग गर्दैआएका थिए । सडकको भित्तापट्टि मुहान भएको पानीलाई जम्मा गरेर उपयोग गर्नका लागि ठेकेदारले खाल्डो खनेको वडाध्यक्ष ढकालले बताए । ‘केही समयअघि भित्ताबाट निस्कने पानीलाई जम्मा गरेर सडकको काममा उपयोग गर्न खाल्डो खनिएको थियो,’ ढकालले भने, ‘सडकको काम सकिएपछि खाल्डोमा जम्मा भएको पानी गाउँलेले सागसव्जीमा लगाउन र गाईवस्तुलाई उपयोग गरिरहेका थिए । त्यही ठाउँमा बच्चा डुबेछ ।’

तपाईको प्रतिक्रिया