आगलागी पीडितलाई गाउँपालिकाद्धारा राहत प्रदान

Halesi

हलेसी खबर संवाददाता
खोटाङ, २ चैत : खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।

डढेलोबाट सर्वस्व गुमाएका अग्नी पिडितलाई तत्कालका लागि राहत स्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडाकुँडा, कम्बल, त्रिपाल लगायतका बन्दोवस्तीका सामान प्रदान गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । गाउँपालिका प्रमुख निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पिडितलाई शनिबार बिहान भग्नावशेष बनको घरमा पुगेर राहत प्रदान गरेको हो ।

डढेलोले घर जल्दा गोपालको ६ जनाको, युवराजको ६ जनाको, भीमप्रसादको ५ जनाको र अभिकेसरको ४ जनाको परिवारको विचल्नी भएको गाउँपालिका प्रमुख निरौलाले बताए । यस्तै, गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट फैलिएको डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलाको घर नष्ट भएको प्रहरीले जनाएको छ ।

डढेलोले घर जल्दा लाखौंको क्षती
सामुदायीक वनबाट गाउँमा छिरेको डढेलोले रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकामा लाखौंको धनमालमा क्षती पुगेको छ । डढेलोले घर, नगद, सुन, चाँदी, अन्न लगायत जल्दा गोपालको १५ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै, युवराजको १३ लाख, भीमप्रसादको ६ लाख र अभिकेसरको ६ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । तराईमा बसाई सर्ने तयारीकाक्रममा ताल्चा हालिएको अवस्थामा अभिकेसरको घर जलेको हो ।

आगलागीमा घरपालुवा पशुपन्छी समेत मारिएका छन् । सोही डढेलोले माक्पा लेवाका तोमबहादुरको करिब २० लाखको क्षती भएको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलालो बताए । तोमबहादुरका परिवारलाई पनि राहत दिने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । सो क्षेत्रमा लागेको डढेलो अझै पूर्णरुपमा निभिसकेको छैन ।

यस्तै, जंगलबाटै सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको मतान जल्दा २ लाख बराबरको क्षती भएको छ । स्थानीय गैरीखेत सामुदायीक वनबाट सुरु भएको डढेलोले शुक्रबार दिउँसो राईको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । शुक्रबार नै भएको आगलागीमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे पाखाबारीका विज्ञान अधिकारीको घर जल्दा ३ लाख बराबरको क्षती भएको छ ।

तपाईको प्रतिक्रिया