थामखर्क बिमानस्थलमा नियमित उडान सुरु, स्थानीयलाई सहज

Halesi

खोटाङ । खोटाङको थामखर्क बिमानस्थलमा नियमित उडान सुरु भएको छ । कालोपत्रे गरिएको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए । परिक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठ्माण्डौं–थामखर्क–काठ्माण्डौं तथा बुधबार काठ्माण्डौं–थामखर्क–बिराटनगर र बिराटनगर–थामखर्क–काठ्माण्डौं उडान भर्ने जनाएको छ ।

कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क बिमानस्थल कालोपत्रे भएपछि गत माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारी र प्रतिनिधि सभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् । जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया