आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न भाडादर निर्धारण

Minakshi Rai
।

खोटाङ, २० असोज । आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनमा पहिलोपटक भाडादर निर्धारण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु. १३ तथा जीप÷सुमोका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु. १५ का दरले भाडादर निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजना गरिएको सर्वपक्षीय÷सर्वदलीय भेलाले निर्धारण गरेको यातायात भाडादरअनुसार दिक्तेलबजारदेखि जयरामघाटसम्म बस, मिनीबस र हाइसका लागि रु. ३७४ तथा सुमो÷जीपका लागि रु. ५११ कायम गरिएको छ । त्यस्तै, दिक्तेलबजारदेखि त्रिधार्मिकस्थल हलेसीबजारसम्म बस, मिनीबस र हाइसको भाडा रु. २१२ तथा सुमो÷जीपको भाडा रु. २९० निर्धारण गरिएको जनाइएको छ ।

दिक्तेलबजारस्थित रत्नपार्कको किरातचोकदेखि कारागारसम्म बस, मिनीबस तथा हाइसको भाडा प्रतिव्यक्ति रु. १७ र सुमो÷जीपको रु. २३ तोकिएको छ । यस्तै, दिक्तेलबजारदेखि मुडे, हुर्लुङ, पानीट्याङ्की, नुनथला प्रहरीचौकी, महुरे, बिजुले, अर्खौले, छापडाँडा, खोक्सेली, बोझेओडार, च्यास्मिटार, कदुवाभञ्ज्याङ, जयरामघाट, हिलेपानी तथा घुर्मीसम्मका विभिन्न सडकखण्डमा समेत दूरीअनुसार भाडा निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङले जानकारी दिनुभएको छ ।

हिन्दु, बौद्ध र किराती धर्मावलम्बीको सङ्गमस्थल हलेसीबजारदेखि अर्खौलेसम्म बस, मिनीबस तथा हाइसको भाडा रु. ६७ र जीपको रु. ९२, हलेसीदेखि बिजुलेसम्म क्रमश ः रु. ८४ र रु. ११५ तथा हलेसीदेखि नुनथलासम्म रु. १२९ र रु. १७५ निर्धारण गरिएको छ । हलेसीबजारदेखि दिक्तेलको मुडेसम्म रु. १६८ र रु. २२९ तथा हलेसीदेखि दिक्तेलको कारागारसम्म रु. १९५ र रु. २६७ भाडा तोकिएको छ ।

दिक्तेलबजारको रत्नपार्कदेखि सोल्मासम्म बस, मिनीबस तथा हाइसको भाडा रु. २३ र जीपको रु. ३०, नेर्पासम्म रु. ५६ र रु. ७६, दोर्पास्थित थापागाउँसम्म रु. ८४ र रु. ११५ तथा बानाचुङसम्म रु. ११२ र रु. १५३ कायम गरिएको छ । त्यस्तै, निर्मलीडाँडा, सेखुवा, खानीडाँडा र आहालेसम्मका लागि समेत दूरीअनुसार छुट्टाछुट्टै सडकखण्डको भाडादर निर्धारण गरिएको जनाइएको छ ।

दिक्तेलबजारदेखि जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यातायातका सवारी साधनका लागि अस्थायी बाटो कायम गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ । सर्वपक्षीय भेलाले दिक्तेलबजारदेखि बाक्सिलाबजार ४२ किलोमिटर, मानेभञ्ज्याङ (साकेला) २७ किलोमिटर, याङ्सोलाटार (दिप्रुङ चुइचुम्मा गाउँपालिका) ३० किलोमिटर तथा हरमटार (रावाबँेसी गाउँपालिका) २२ किलोमिटर, ऐसेलुखर्कबजार ४६ किलोमिटर, खोटाङबजार (खोटेहाङ गाउँपालिका) ७० किलोमिटर, चिसापानी (जन्तेढुङ्गा गाउँपालिका) ९० किलोमिटर र बागखोर (बराहपोखरी गाउँपालिका) १०० किलोमिटर, खार्मी–बालाबेँसी, भाँडबेँसी–रसुवाघाट र टेम्मा लगायतका सडकखण्डलाई अस्थायी बाटो कायम गर्न प्रदेश यातायात व्यवस्थापन समितिसमक्ष सिफारिस गरिएको हो ।

भाडादर निर्धारणका लागि आयोजना गरिएको सर्वपक्षीय भेलाले जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनको सुरक्षा तथा ट्राफिक नियम पालनामा समेत कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिनुभएको छ । “जिल्लाभित्र सञ्चालन हुने यातायातका सावारी साधनमा व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेको गुनासाहरु आएका छन् । यसलाई नियमन गर्न भाडादर निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो, “सर्वपक्षीय भेलाले गरेको निर्णय उलङ्घन गरेकोखण्डमा कानूनी कारबाही गरिन्छ । यसमा सबैभन्दा पहिले यात्रु सचेत हुन जरुरी छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा चालकले ट्राफिक नियम पालना गरे÷नगरेको नियमित अनुगमन गर्ने भएको छ । सार्वजनिक सवारी साधनको ब्रेक, टायर, बत्ती, स्टेरिङ, इन्डिकेटरलगायत सुरक्षा उपकरणको प्रभावकारी चेकजाँच तथा निरीक्षण गरी सुरक्षित अवस्थामा रहेका सवारी साधन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने, तीव्र गति तथा लापरबाहीपूर्वक सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णयसमेत भएको छ । यस्तै, अटो तथा तीनपाङ्ग्रे सवारी साधनको भाडादर निर्धारण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने निर्णय भएको छ ।

यातायात व्यवस्था कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाण भएका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा २० प्रतिशतसम्म थप रकम लिन पाउने व्यवस्था छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश सरकारले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्न गरेको पत्राचारअनुसार सर्वपक्षीय भेलाले पहिलोपटक भाडादर निर्धारण गरेको हो ।

तपाईको प्रतिक्रिया