गुरुङ सेवा समाज खोटाङद्धारा प्रजिअ महेशकुमार गुरुङलाई स्वागत

Minakshi Rai

खोटाङ, २९ भदौ । गुरुङ सेवा समाज खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङमा प्रमुख जिल्ला अधिकारी नियुक्त भएर आउनुभएका महेशकुमार गुरुङलाई स्वागत गरेको छ । जिल्लामा पहिलोपटक गुरुङ समुदायबाट प्रमुख जिल्ला अधिकारी नियुक्त भएर आएको भन्दै गुरुङ सेवा समाजले उहाँलाई सोमबार गुरुङ परम्परा अनुसार स्वागत गरेको हो ।

यही भदौ–२५ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ आउनुभएका उपसचिव गुरुङलाई गुरुङ सेवा समाजले परम्परागत पोशाक भाङ्ग्रा र भेँडाको उनबाट बनाइएको लुकुनी ओढाएर फेटा (पगरी)समेत बाँधीदिएका छन् । प्रजिअ गुरुङलाई स्वागत गर्न रावाबेँसी गाउँपालिकाका उपप्रमुख कौशिला गुरुङ, दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण गुरुङ, सामाजिक अभियान्ता मोहन गुरुङ लगायतका गुरुङ प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

दिक्तेलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा सहभागी गुरुङ सेवा समाजका प्रतिनिधिहरुले प्रजिअ गुरुङलाई जिल्लाको शान्ति, सुरक्षा, सुशासन तथा समग्र विकासमा निश्पक्ष भएर काम गर्न आग्रह गरेका छन् । जवाफमा प्रजिअ गुरुङले कुनै पनि जात, धर्म र समुदाय नहेरी जिल्लावासीको हित हुनेगरी नेपाल सरकारले दिएको अधिकार प्रत्यायोजन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट सरुवा भएर खोटाङ आउनुभएका ३७ वर्षीय प्रजिअ गुरुङलाई विभिन्न क्षेत्रका प्रतिनिधिले स्वागत गरिरहेका छन् । सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन खोटाङमा गृहमन्त्रालयले सहसचिव हटाएर उपसचिव कायम गरेपछि गुरुङ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न खोटाङ आउनुभएको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी गुरुङले सोमबार जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ खोटाङका पदाधिकारीसहित जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर जिल्लाको समग्र अवस्था तथा भावी चुनौतिको विषयमा अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियामा सहभागी पत्रकारहरुले जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको विषयमा प्रजिअले खेल्नुपर्ने भूमिकाको विषयमा सुझाव दिएका छन् । प्रजिअ गुरुङले सरोकारवाला निकायको सुझाव तथा कानूनले दिएको अधिकार प्रत्यायोजन गरेर जिल्लामा सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया