यमननजिकै आक्रमणपछि लाल सागरमा डुब्यो भारतीय व्यावसायिक जहाज

Minakshi Rai

साउन, २० खोटाङ । इरान–अमेरिका द्वन्द्वको असर लाल सागरमा पनि देखिएको छ । स्ट्रेट अफ हर्मुजलाई इरानले ठप्प पारेका बेला अब लाल सागरमा पनि अवस्था जटिल बनेको हो ।

हुथी विद्रोहीको पकड रहेको यमननजिकै लाल सागरमा भारतीय झण्डावाहक व्यावसायिक जहाजमाथि आक्रमण भएको हो । ‘एमएसभी फैजे नूर–ए–औलिया’ नामक जहाज आक्रमणपछि डुबेको छ । जहाजमा सवार सबै १३ भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ ।

यमनको तटनजिक लाल सागरमा भारतीय झण्डावाहक व्यावसायिक जहाजमाथि इरान समर्थित हूती विद्रोहीहरूले आक्रमण गरेका हुन् । प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको आत्मघाती डुंगाले जहाजमा ठक्कर दिएको थियो, जसपछि जहाज डुबेको हो ।

भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’माथिको आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर निगरानी गरिरहेको जनाएको छ । चालक दलको सुरक्षाका लागि यमनका सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि जनाएको छ ।

उता यमनका हूती विद्रोहीको धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले लाल सागर र बाब–अल–मन्देब मार्ग छाडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो समुद्री मार्ग रोजेका छन् । यसले क्षेत्रीय जलमार्ग सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।

होर्मुज जलडमरूमध्यसम्बन्धी सम्भावित सम्झौताको आशापछि अमेरिकी कच्चा तेलको मूल्य करिब ५ प्रतिशत घटेर प्रति ब्यारेल ७६.३२ डलरमा झरेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य पनि ८० डलर प्रतिव्यारेलभन्दा तल पुगेको छ ।

उता इरानी रिभोल्युसनरी गार्डले होर्मुज जलडमरूमध्यमाथि उडिरहेको एमक्यू–९ रीपर ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेको छ । तर उक्त ड्रोन कुन देशको थियो भन्ने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया