देउवा पक्षका ५१ केन्द्रीय सदस्य सानेपा आउन तयार

Minakshi Rai

खोटाङ, १ असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दैछ ।

१४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेपछि यो केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यो बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवानिकट ५१ जना नेताहरू पनि सहभागी हुने भएका छन् । यीमध्ये केही नेता आफ्नो गृह जिल्ला पनि गइसकेका छन् । असोज ३ र ४ मा वडा अधिवेशन हुँदैछ । यसपालि केन्द्रीय सदस्य स्वतः महाधिवेशन हुने व्यवस्था हटाइएकोले वडादेखि नै निर्वाचित भएर आउनुपर्छ ।

निवर्तमान सभापति देउवानिकट ५१ निवर्तमान केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि मनोनीत केन्द्रीय सदस्यको हैसियतमा आजको बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठोरसहित नेताहरू आज बैठकमा सहभागी हुने बताइएको छ ।

समहामन्त्री उदयशम्शेर राणाले विशेष महाधिवेशनबाट आएको कार्यसमिति र हालै केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सभापति गगन थापाले मनोनीत गरेका १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूबीच आज बैठक गर्न लागिएको जानकारी दिनुभएको छ । उहाँकाअनुसार निवर्तमान सभापति देउवा पक्षनिकट ५१ नेता केन्द्रीय समितिमा आउनेछन् ।

ती नेताहरू संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा भाग लिन केही दिनअघि सहमत भएका थिए । गत पुसको विशेष महाधिवेशनमा भाग नलिएका निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका यी नेता केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेका हुन् ।

सहमहामन्त्री राणाले संस्थापनइतर पक्षका सबै माग पूरा भइसकेकोले अब चुनदेवीमा बस्नुपर्ने अवस्था नरहेको पनि बताउनुभएको छ । पार्टीलाई एकताबद्ध बनाएर गगन थापाकै नेतृत्वमा आफूहरू अघि बढ्ने उहाँको भनाइ छ । ‘सभापति गगन थापाजी पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा हुनुहुन्छ, अझै समय छ, चुनदेवीमा साथीहरू बस्न जरूरी छैन, सानेपा आउनुहोस्,’ उहाँले भन्नुभयो ।

शीर्ष नेताहरूलाई वडामा गएर चुनिएर आउन अप्ठेरो लागेका खण्डमा सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न सक्नेतर्फ संकेत गर्दै उहााले सबैलाई एकताबद्ध बनाएर लगिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया