ब्रिटिस गोर्खा वेल्फेयरको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

Halesi Khabar
322 Shares

खोटाङ, २९ जेठ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयरको आर्थिक तथा प्राविधिक सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार ४२६ लगानीमा तीनकोठे विद्यालय भवन निर्माण गरिएको हो ।

ब्रिटिस गोर्खा वेल्फेयरको रु १७ लाख तथा स्थानीय उपभोक्ताको रु चार लाख ४३ हजार ४२६ बराबरको जनश्रमदानमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको प्रधानाध्यापक नयन्द्रकुमार राईले जानकारी दिनुभयो । “सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुन्छ । कक्षाकोठा अभाव हुँदा पठन÷पाठनमा समस्या थियो । ब्रिटिस गोर्खा वेल्फेयरको आर्थिक तथा प्राविधिक सहयोगमा तीनकोठे सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ”, उहाँले भन्नुभयो, “नवनिर्मित तीनकोठे भवनसहित विद्यालयमा अहिले १५ वटा कक्षाकोठा भएको छ । बालविकासदेखि कक्षा–८ सम्म नौँवठा कोठा प्रयोग गरिएको छ । बाँकी रहेकामध्ये बैठक कक्ष, कम्प्युटर ल्याब र भण्डारण कक्षको रुपमा प्रयोग गरिएको छ ।”

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र ब्रिटिस गोर्खा वेल्फेयर स्किम भोजपुरका क्याप्टेन प्रतापसिं राईले सोमबार संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । निर्माण सम्पन्न गरेको १८ दिनपछि उद्घाटन गरिएको विद्यालय भवनमा लगाइएको साँचोको चाँबी क्याप्टेन राईले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ईन्द्र राईलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा क्याप्टेन राईलाई विद्यालय प्रशासनको तर्फबाट कदरपत्रसहित सम्मानसमेत गरिएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का खोटेहाङ गाउँपालिका उपाध्यक्ष ईन्द्रहाङ किरातीले जानकारी दिनुभयो । स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतिसहित उद्घाटन गरिएको कार्यक्रममा वाप्लुखाका वडाध्यक्ष पारस राई, शिक्षक, अभिभावक, आमा समूह लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय बासिन्दा एवम् पूर्व ब्रिटिस आर्मी (बेलायती सेना) विश्वराज राईको पहलमा विद्यालय भवन निर्माण गरिएको जनाइएको छ । विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएको भवनका लागि वि.सं. २०८० पुस–२ गते सम्झौता गरेर वि.सं. २०८१ जेठ–१० गते सम्पन्न गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभएको छ ।

वि.सं. २०२४ सालमा स्थापना गरिएको विद्यालयमा हाल १०६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा तीनजना प्राथमिक तहका स्थायी दरबन्दी, दुईजना निम्न माध्यमिक तहका राहत दरबन्दी, एकजना प्राथमिक तहका राहत शिक्षक तथा एकजना बालविकास सहयोगी कार्यकर्ता र दुई निजी श्रोतका शिक्षक कार्यरत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया