पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी

Halesi Khabar
252 Shares

खोटाङ, २५ जेठ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको काम शुरु गरिएको छ । जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि संरक्षण गर्न डिभिजन वन कार्यालय खोटाङले जिल्लाका विभिन्न सातवटा स्थानीय तहका १५ वटा सामुदायिक वनको शीर (टुप्पो)मा रिचार्ज पोखरी निर्माणको काम शुरु गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई÷दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको शुरु गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभएको छ । “पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम शुरु गरिएको हो”, उहाँले भन्नुभयो, “रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ ।”

जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने, केही ठाउँमा धमाधम निर्माण भइरहेको जनाइएको छ । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय खोटाङ तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)को सहकार्यमा निर्माण गरिने जनाइएको छ ।

डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रति पोखरी रु दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु दुई लाख ३५ हजार बजेट रहेको छ । सामुदायिक वन उपभोक्ता समितिमार्फत निर्माण गरिने रिचार्ज पोखरी २४० र २५० घनमिटरको हुने डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको रिचार्ज पोखरीले पानीको मुहान संरक्षण हुनुका साथै मुहानहरुमा पानीको मात्रा बढ्नेमा आफूहरु विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा डिभिजन वन कार्यालयले सञ्चालन गरेको रिचार्ज पोखरी कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालय खोटाङले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनहरुमा रिचार्ज पोखरी निर्माण गरेका थिए । लामो समयदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको पानीको मुहान सुक्न थालेपछि जिल्लाका स्थानीय तहहरुले समेत आ–आफ्नो क्षेत्रका सामुदायिक वनहरुमा रिचार्ज पोखरी निर्माण गरिरहेका छन् ।

रिचार्ज पोखरी निर्माणले पर्यायवरण संरक्षणमा समेत सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राईले बताउनुभएको छ । पर्यायवरण संरक्षणका लागि डिभिजन वन कार्यालयहरुसँग सहकार्य गरेर महासङ्घले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको सदस्य राईले जानकारी दिनुभएको छ ।

यसैबीच, डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तरगत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डा लगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरेको हो ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका बिरुवा उत्पादन गरिएको जनाइएको छ । प्रतिगोटा रु १० का दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका बिरुवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

डिभिजन वन कार्यालय खोटाङ तथा सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका बिरुवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित बिरुवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने डिभिजन वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया