कृषि पेशामा रमाउँदै धर्मराज पोखरेल : व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

Halesi Khabar
539 Shares

खोटाङ, २१ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले वि.सं. २०७८ सालमा ‘विजय अर्गानिक भिजेल कम्पनी प्रा.लि.’मार्फत आफ्नै गाउँमा कृषि फार्म शुरु गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आउनुभएका पोखरेलले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई÷भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाउनुभएको छ ।

विजयर्खस्थित उहाँका आफ्नै जग्गामा १३ वटा बङ्गुर फार्म सञ्चालन गरेको पाइएको छ । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारी खेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यवसायिक कृषि फार्म सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभएको छ ।

विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० को हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछा पोखरी, तरकारी खेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँचवटा बङ्गुर फार्म छन् । जहाँ करिब २०० को हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछा पालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब ५०० को हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकार्डो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्ष लगायतको व्यवसायिक खेती लगाइएको छ ।

बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब २०० को हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकार्डो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किवी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारी खेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसी गोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिची लगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ ।

यस्तै, राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० वटा बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसी पालन गरिएको पोखरेल बताउनुभएको छ । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब ४०० को हाराहारीमा बाख्रा पालन गरिएको छ । पाँचवटा गाई पालन गरिएको छ । गाई बाख्राकालागि डाले र भुइँ घाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारी खेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक÷एक परिवारलाई पारिश्रमिकसहित शेयर सदस्यका रुपमा राखिएको छ । शेयर सदस्यका रुपमा राखिएका नौँ घर परिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।

फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि पोखरेलले बुइपाको पञ्चदोबाटोमा खाने बस्ने व्यवस्थासहितको सेकुवा पसल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोल्नुभएको छ । फार्महरुमा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठो ल्याइएको हो ।

प्रतिकेजी रु एक हजार २०० का दरले फार्मबाटै ५६ वटा बँदेल बिक्री भइसकेको पोखरेल बताउनुभएको छ । राजनीतिमा समेत सक्रिय रहनुभएका पोखरेल काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आउनुभएको छ ।

बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताउनुभएको छ । “कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरुपमा लगानीमात्र भइरहेको छ । आम्दानी शुरु भएको छैन । अहिलेसम्म रु १५ करोडभन्दा बढी लगानी गरिसकेको छु” उहाँले भन्नुभयो, “जिम्मेवार निकायमा बसेकाहरु कृषिमा सम्भावना छ भनेर गफ मात्रै गर्ने गरेका छन् । मैले चाहिँ आफै गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यवसायिक खेती शुरु गरेका छन् । कृषि पेशालाई व्यवसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।”

फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपन्छी काठमाडौँ नि¥यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्रहरु सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिनुभएको छ ।

कृषि पेशामा ठूलो धनराशि लगानी गर्नुभएका पोखरेलले वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुखको टिकट लिएर आउनुभएको थियो । प्रदेशबाट नगर प्रमुखको टिकट पाएपछि हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिनुभएका पोखरेललाई असन्तुष्ट पक्षले हेलिप्याडमा हातपातसमेत गरेका थिए ।

सुरक्षा घेराभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपनि अन्तिममा उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाउनुभयो । प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो ।

निर्वाचन परिणाम अनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई पराजित हुनुभयो भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी हुनुभयो । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी निश्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरनुभएको छ ।

तपाईको प्रतिक्रिया