ईलाका प्रशासन कार्यालय खोटाङबजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण शुरु

Halesi Khabar
217 Shares

खोटाङ, ८ मङ्सिर । ईलाका प्रशासन कार्यालय खोटाङबजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम शुरु गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई आफ्नै क्षेत्रबाट राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ ईलाका प्रशासन कार्यालय खोटाङबजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङबजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम शुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । “दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि राष्ट्रिय परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भएपनि त्यो समस्या समाधान भएको छ । शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य शुरु भएको छ”, उहाँले भन्नुभयो, “अब फोटोसहितको मतदाता नामावली सङ्कलन र ई–पासपोर्ट (राहदानी)को काम पनि शुरु गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।”

राष्ट्रिय परिचयपत्र स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकजना तालिम प्राप्त कम्प्युटर प्राविधिक र ईलाका प्रशासन कार्यालयले करारमा थप एकजना दर्ता सहायक नियुक्त गरेको गाउँपालिका प्रमुख मुक्तिले जानकारी दिनुभएको छ । ईलाका प्रशासन कार्यालयमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र स्थायी दर्ता स्टेशन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका प्रमुख मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिका उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भूवलराज राई लगायतको उपस्थितिमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र स्थायी दर्ता स्टेशनमा पहिलो दिनमै दशजना स्थानीय बासिन्दाले सेवा लिएका छन् । ईलाका प्रशासन कार्यालय खोटाङबजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई–पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोधपत्र लेख्ने प्रजिअ सुनारले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ । राष्ट्रिय परिचयपत्रलाई नेपाल सरकारले अनिवार्य बनाएपछि दूरदराजका स्थानीय बासिन्दाहरु दुई दिनसम्म लगाएर राष्ट्रिय परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य छन् ।

नेपाल सरकारले लागू गरेको राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति÷पत्नीको नाम, बाजेको नाम लगायतका व्यक्तिगत विवरण देखि औँलाको छाप, आँखाको नानी, परिचयपत्रको नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर लगायत समावेश गरिन्छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।

तपाईको प्रतिक्रिया