आँखा पाक्ने रोगको प्रकोप जिल्लाभर फैलियो, दुई विद्यालयको पठनपाठन बन्द

Halesi Khabar
0 Shares

खोटाङ, ३२ साउन । आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) जिल्लाका सबै स्थानीय तहका स्थानीय बासिन्दामा देखिएको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने र दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायतका लक्षण देखिएको हो ।

आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका दुई नीजि विद्यालयको पठनपाठन बन्द गरिएको छ । दिक्तेलस्थित त्रिबेणीचोकमूनि रहेको माउण्ट एभरेष्ट ईङ्ग्लिस बोर्डिङ स्कूल र अल्छेढुङ्गास्थित हिलसाईड स्याम्पल एकेडेमी बोर्डिङ स्कूलको पठनपाठन बन्द गरिएको हो ।

माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा गत आइतबार १६ जना विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको थियो । त्यसको भोलिपल्ट सोमबार बढेर ४५÷४६ जनामा फैलिएको पाइएपछि मङ्गलबारदेखि कक्षा–१० सम्मको पठनपाठन बन्द गरिएको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

आगामी आइतबारसम्म आँखा पाक्ने समस्या हल नभएमा आँखा अस्पताल दिक्तेलसँग सहकार्य गरेर विद्यार्थीहरुको उपचार गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । सोही बोर्डिङको बिहानीसत्रमा अध्ययनरत कक्षा–११ र कक्षा–१२ का विद्यार्थीमा यो समस्या नदेखिएकाले पठनपाठन भइरहेको जनाइएको छ ।

हिलसाईड बोर्डिङ स्कूलमा आइतबार एकैचोटी १२ जनामा आँखा पाक्ने रोग देखिएपछि पठनपाठन बन्द गरिएको सञ्चालक समिति अध्यक्ष जलशेर राईले बताउनुभएको छ । विद्यार्थीमा आँखा पाक्ने रोग नियन्त्रण तथा उपचारका लागि डाक्टरसँग सल्लाह र परामर्श गर्ने काम भइरहेको अध्यक्ष राईको भनाइ छ ।

दिक्तेल बजारको सरस्वती माविमा पनि केही दिन अघिबाट दैनिक रुपमा ४÷५ जना विद्यार्थीमा आँखा पाक्ने रोग देखिरहेको प्रधानाध्यापक केशरकुमार राईले बताउनुभयो । कक्षा शुरुहुनुअघि बिहानीको प्रार्थनासभामा आँखा पाक्ने रोग लागेका विद्यार्थी भए÷नभएको सोधेर तथा कक्षाकोठामा शिक्षकले सोधेर आँखा पाकेका विद्यार्थी भेटिने बित्तिकै घर पठाउने गरिएको विद्यालयले जनाएको छ ।

पञ्च मावि दिक्तेलमा पनि केही दिन अघिबाट ५÷६ जनामा आँखा पाक्ने रोग देखिएको छ । उनीहरुलाई ठीक नभएसम्म विद्यालय नआउन भनिएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले जानकारी दिनुभयो । रोगको प्रकोप देखिएका विद्यार्थीलाई घरमै बसेर उपचार गराउन अनुरोध गरिएको विद्यालय स्रोतले जनाएको छ ।

आँखा पाक्ने रोग नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखाले प्रधानाध्यापक तथा शिक्षकहरुलाई बैठकमा बोलाएर अवस्था बुझ्ने काम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोग नियन्त्रणमा नआएको खण्डमा केही दिनभित्रैमा आवश्यकता अनुसार शिक्षा र स्वास्थ्यका टोली विद्यालय–विद्यालय पठाएर उपचार तथा रोकथाम गराउने नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

बैठकले आँखा पाक्ने केश धेरै बढेमा विद्यालय बन्द गर्ने, सङ्क्रमित विद्यार्थीलाई घरमै बस्न लगाउने, विद्यालय र स्वास्थ्य संस्थामार्फत सचेतना कक्षाहरु सञ्चालन गर्ने, आँखा पाक्ने रोगबाट सुरक्षित हुन र सङ्क्रमण फैलिन नदिन सबै विद्यालय र वडामा पत्रचार गरिएको नगर स्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि सम्यमता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।

आँखा उपचार केन्द्र दिक्तेलका पछिल्लो समय दैनिक रुपमा ३० देखि ४० जना आँखा पाक्ने रोगका बिरामी उपचारमा आउने गरेको केन्द्रका प्रमुख हरिहर श्रेष्ठले जानकारी दिनुभएको छ । आँखा पाक्ने भाइरल कन्जङ्क्टिभाइटिस रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफै निको हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

घरमा स्याहार गर्दा बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात हुने, प्रशस्त मात्रामा पानी र पोषिलो खाना खान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । घर बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने गरेमा आँखा पाक्ने रोगबाट सुरक्षित हुन सकिने जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया