लघु नाटक :- “प्यारेन्ट्स डे”(अभिभावक दिवस)

Halesi Khabar
0 Shares

 भिम राई

पात्रहरु :-
स्वदेश :- बाबु, शिक्षा :- आमा, सौरभी :- छोरी, शिला :- छोरी, लगायत अन्य साथीहरु

पहिलो भाग

(स्वदेशको सामन्य परिवार छ । श्रीमती शिक्षा छोरी सौरभी र छोरी सुरज गरेर जम्मा ४ जनाको परिवार छन् उनको परिवारमा । अर्थिक संकटमा रहेका आम नेपालीलाई जस्तै यो परिवारमा पनि उस्तै संकट छ । छोरी सौरभी कक्षा – ७ मा पढ्छिन । शिला कक्षा ५ मा पढ्दै छ । दुवैलाई अहिले पढाउन त जेनतेन चलेको छ । तर छोरीछोरीको भविष्यलाई सम्झेर चिन्तित् छन् स्वदेश । यीनै चिन्ताले गर्दा स्वदेश जानेले विदेश जाने योजना बनाएको हो । आज उस्को विदेश हिँड्ने दिन हो ।)
स्वदेश ः (चिसो हात रुमालले पुछ्दै स्वदेशको प्रवेश) शिक्षा .. खै मेरो झोलाहरु तयार पारेउ त ?
शिक्षा ः (एउटा सानो झोलामा सामानहरु प्याक गर्दै) झोला त तयारी गर्दैछु । बाबा ! तर मन भने निकै भारी भईरहेको छ । के गरौँ… बाध्यता ।
स्वदेश ः (सम्झाउँदै) अब मन भारी बनाएर के गर्छौ त ? नगई भएको छैन । बरु अब त छोरीछोरी पनि बुझ्ने भईसके । चिन्ता नगर
शिक्षा ः (गम्भिर मुद्रामा) तँपाई भन्नु हुन्छ नी । नजानु भन्दा मान्नु हुन्न । विछोडीनु भन्ने कुरा कहाँ मिठो लाग्दो रहेछ र ? तँपाई पो आँटले हिँड्नु खोज्दै हुनुहुन्छ र ।
स्वदेश ः मलाई पनि तिमिहरुलाई छाडेर जाने रहर त कहाँ लागेको छ र ? तर यी सबै परिस्थितीले गर्दा विछोडिनु पर्ने भो । अहिले होईन छोरी छोरीको भविष्यलाई हेर्नुछ ।
शिक्षाः खै सबैभन्दा ठुलो जिम्मेवारी हो । जिम्मेवारी उठाएर जाँदै हुनुहुन्छ म के भनौँ । सक्दो म पनि याहाँ दुख गर्ने कोशिस गर्ने छु ।
(यतिकैमा सौरभी र सुरज आईपुग्छन् ।)
सौरभी ः मामु ! बाबा कहाँ जानु लाग्नु भाको ? (सुरज बाबाको नजिकै टाँसिएर बस्छ)
स्वदेश ः (छोरीलाई हेर्दै) छोरी म केही दिनका लागि विदेश जान लागेको । ज्ञानी भएर पढ्नु । नियमित स्कुल जानु । मामुले भनेको मान्नु । छोरीले नि राम्रो पढ्नु । भनेको मामु र दिदिले भनेको मान्नु (छोरीको कपाल मुसार्दै ) ज्ञानी छौ अझै ज्ञानी हुनु ।
शिला ः अनि बाबा ? विदेश गएर कहिले आउने ? तँपाई नहुँदा त कस्तो नरमाईलो हुन्छ ।
(उता शिक्षा लुगा पट्याएर झोला हाल्दै सुँक सुकाउँछिन् । छोरी छोरीले नदेख्नेगरी फर्केर आँशु पुच्छिन् )
शिला ः (बाबाको मुखतिर हेर्दै) बाबा किन जाने विदेश ? कति टाढा छ । हामीलाई पनि लानु हुन्न र ?
स्वदेश ः (मायाले सुम्सुम्याउँदै) हुन्न छोरी विदेश भनेको टाढा छ । म केही दिनमा आईहाल्छु नी । तिमिहरु यहि बसेर राम्रो पढ्ने हस ।
( शिला बुझेजस्तै गरेर मुन्टा हल्लाउँछ । )
सौरभी ः ( बाबाको हात समाउँदै रुन्चे स्वरमा) बाबा विदेश नजाँदा हुन्न र ? तँपाई नभएपछि यहाँ कस्तो गारो हुन्छ ? कसले हामीलाई माया गर्छ । अनि कपिकलम कसले किनि दिन्छ ? (विस्तारै रुन थाल्छ) भोकलाग्दा तिर्खालाग्दा कसले खान दिन्छ ? अनि रेविकाको बाबाहरु त यहि बसेर काम गर्नु हुन्छ त । त्यसैगरी यहि काम गर्नु न बाबा । तँपाईपनि हुन्न ?
स्वदेश ः (भावुक बन्छ । आँशु चुहियला जस्तो हुन्छ) शान्ति .. झोला तयार भयो त? ( शान्ति तिर फर्केर सोध्छ)
शान्ति ः (सुक सुकाउँदै झोला टिप्छिन् र दिँदै) यी लिनुहोस । (श्रीमानको आँखामा हेर्दै) बाबा चाँडै फर्केर आउनुस है …..। (आँशु पुछेको देखेर सौरभी र शिला चुपचाप रुन थाल्छन्)
स्वदेश ः (दरिलो मुटु बनाउँदै) धैत यसरी रुने हो त ? हिँड्ने बेलामा ।
सौरभी ः बाबा नजानु न के ? यी हेर्नु त मामुपनि रोई रहनु भएको छ । भाईपनि । अरु नजाँदापनि हुन्छ त (झोला समाउँछ)
शान्ति ः (सौरभीलाई तान्दै) छोरी यता आउ । अब बाबा जानु हुन्छ । (आँशु पुछेर) उ त्यो अविर र माला ल्याउ त । हामी घरमै बसौँला । (सौरभीले अविर फूलमाला ल्याउँछिन् ।) बाबा अब ढिलो होला । साथीहरुले छोड्लान् । छिटो गर्नुस जाने नै भएपछि । (सबै उभिन्छन् । शान्तिले अविर लगाईदिन्छिन् । सौरभीले माला)
स्वदेश ः (गोजीबाट केही पैसा निकाले र छोरी छोरीलाई दिदै) लु छोरी म विदेश पुगेर फोन गरिहाल्छु । राम्रो पढ्नु । (छोरीलाई पैसा हातमा दिदै) छोरी ज्ञानी छौ ज्ञानी हुनु । ठुलो मान्छे हैन जान्ने मान्छे हुनु है ।
सौरभी ः (रुदैँ) बाबा चाँडै आउनु है त । (बाहिर बाट आवाज आउँछ)
बाहिर ः स्वदेश ए स्वदेश… लु छिटो जाँउ अहिले गाडी छुट्छ
स्वदेश ः (छोरी छोरीलाई हातमा चुमेर शान्तिलाई अंकमाल गर्दै) शान्ति ल म गएँ । छोरीछोरीको राम्रो ख्याल गर्नु म पुग्ने वितिकै फोन गरुँला चिन्त नलिनु ।
( स्वदेश झोला बोकेर बाहिर निस्कन्छ । सँगसँगै शान्ति, सौरभी र शिलापनि बाहिर सम्म पु¥याउन निस्कन्छन्)
पर्दा बन्द

 

दोस्रो दृष्य

(एकहुल विद्यार्थीहरु परबाट गफ गर्दै आईरहेका छन् । उनिहरु आफ्नै पारामा जिस्कदै आउँदा रविना भने एक्लै निरास मुडमा बसिरहेकी छन् ।)
सिजन ः (रुविनालाई देखाउँदै ) ओई साथी हो हेरन त्यो रुविनालाई के भएछ हँ । निरास जस्तो एक्लै बसि रहेकी छे
शिला ः ह्या के हुनु नी त्यस्तै हो त्यो ।
समिक्षा ः (साथीहरुलाई सम्झाउँदै) होईन हौ रुविना त्यस्तो मान्छे होईन । उसलाई केही त भाकै हुनुपर्छ । बरु जाउँ न सोधुम ।
(सबै रुविनाको नजिक पुग्छन्)
समिक्षा ः ओई रुविना तँलाई के भो निरास देखिन्छेस त ? की ?…(केटा केटिहरु मुखा मुख गर्छन)
रुविना ः ह्या .. के को की ? यहाँ आफुलाई भने सौरभीको कस्तो चिन्ता लागि रहेको छ ।
सिजन ः किन के भो र सौरभीलाई ?
रुविना ः हेरन साथी हो सौरभी पहिलेको जस्तो सौरभी छैन । खाली निराश देखिन्छ । बोल्न पनि मन गर्दैन । पढ्नपनी करले पढे जस्तो मात्र गर्छे । उसको बाबा विदेश गएदेखि एकदमै निराश भएकी छ ।
समिक्षा ः खै यस्तो बेला हामीले के नै पो गर्न सक्छौँ र ? कि एक पटक भेटेर हौसला चाही दिनु पर्ला है
शिला ः हो हो लु भेटेर हौसला दिनु पर्छ ।
रुविना ः (उता तिर देखाउँदै ) उ सौरभी यतै आउँदै छिन् ।
सौरभी ः (नजिकै आईपुग्छीन)
सबैले ः हाई सौरभी
सौरभी ः (निराश भएर हात उठाउँदै) हाई
रुविना ः सौरभी हामी तिम्रै कुरा गर्दै थियौँ ।
सौरभी ः के कुरा ?
समिक्षा ः तिमि खालि अचेल किन निरास बनेकी भनेर नी ।
सिजन ः हो सौरभी हामीलाई तिमि निरास भएको मन परेकै छैन ।
सौरभी ः के गर्नु मेरो बाध्यता होला । बाबा नभएपछि तिमिहरु जस्तो कसरी हाँस्न सक्नु र खै ?
शिला ः सौरभी चिन्ता नगर । सबै ठिक हुन्छ । मेरोपनि त बाबा विदेशै जानु भएको छ नी ।
रुविना ः हो त नी शिलाको बाबा पनि तिम्रो जस्तै त हो ।
सौरभी ः त्यो त हो ( मुख छोपेर रुन थाल्छे)
समिक्षा ः (सम्झाउँदै) सौरभी नरोउन हामी छौँ नि साथी भाई किन रोएकी ?
रुविना ः त्यही त है (रुविनाको आँखापनि रसाई रहेको देखिन्छ)
सिजन ः लौ यीनीहरु त रुन पो लागे । उता कक्षा लाग्ने बेला भईसक्यो लु छिटो जाउँ । (सबैजना उठेर हिँडछन्)

पर्दा बन्द

तेस्रो भाग

(स्वेदेश परदेश लागेकोपनि निकै भईसकेको छ । सौरभीको आमा कतै काममा गएकी छन् । शिला खेल्नमा कता पुग्यो । आज छुट्टिको दिन सौरभीलाई बाबाको यादले निकै सताएको छ । मोवाईलमा बाबाको तस्विर देख्छ । तस्विरलाई सार्दै हेर्छ उसलाई मनमा लागेको कुरा एक्लै बोल्न थाल्छ ।)
सौरभी ः बाबा ! तँपाई गएको पनि कति समय भईसक्यो है । मलाई त तँपाई नहुँदा नरमाईलो लागि रहन्छ । कहिले बोल्न पाउँछु होला । अब कहिले आउनु हुन्छ ? म कस्तो दुखी छु । बाबा तँपाईलाई थाहा छ । अस्ति रेविका बाबा र मामुसँग बजार घुम्न गाको देखेर तँपाईलाई कति मैले सम्झे नी । म त जहिल्यै बाबासँगै बस्न मनलाग्छ । (तस्विरसँग एकोहोरो बोलिरहन्छ) बाबा थाहा छ । म अचेल राती निदाउनै सक्तिन सानोमा हजुरले हातमा समातेर बजार लिएर गएको सम्झन्छु । कति माया गरेर किनिदिनु भएको त्यो सानो पुतली थियो नि । अस्ति कति खोजेँ भेटिन् । मलाई त अहिले पढ्नै मन लाग्दैन । पुस्तकको पानामा हजुरकै मात्र अनुहार दौडि रहन्छ । के गर्नु बाबा ? बोल्न मन लागेको बेला पनि पाईदैन । अस्ति भाई बिरामी हुँदा सम्झेर कति रोएँ । बाबा भएको भए छिटो निको हुन्थ्यो होला भनेर सम्झिएँ । तर बाबाले हामीलाई बिर्सनु भो होला (अन्यासै आँखामा बगेको आँशु पुछ्रदै) हैन तर हाम्रो बाबाले हामीलाई कति माया गर्नुहून्छ हकी बाबा ? अहिले पनि कति माया गर्नु हुन्छ होला मैले नदेखेर पो त । साँची भोली त प्यारेन्ट्स डे पनि छ ।
(यतिकैमा ढोका खुलेको आवाज आउँछ । सौरभी झस्किदै उठ्छिन । बाहिरबाट आमा आउँछिन् )
शान्ति ः छोरी के गर्दै छौ । (अनुहारमा नियाल्दै) लौ यो त मोवायलसँग पो बोल्दै रहेछ । लौ रोएको पनि … । (मायाले तान्दै) के भयो छोरी ? किन रोएको त्यसरी ?
सौरभी ः (मामुलाई अंगालो कस्दै) मामु मलाई बाबाको सारो याद आयो फोटो हेरेको ? रुन आयो । नरिसाउनु न हस ।
शान्ति ः यस्तै हो छोरी । टाढाभएको मान्छेको यादहरुले मुटुहरु सँधै छिद्र नै बनाउछ । टाल्दै जानु पर्छ ।
सौरभी ः मामु हजुरलाई बाबाको याद आउँदैन र ?
शान्ति ः किन आउँदैन र छोरी ? तिमिहरुलाई जति बाबाको याद आउँछ त्यो भन्दा बढी मलाई आउँछ । हामी तिमिहरुको बाबा आमा हौँ । तिमिहरुलाई सानो चोट लाग्दा हामी दुवैलाई दुख्छ । तर तिम्रो बाबा नहुँदा त्यो चोटहरु एक ठाउँमा भएर ठुलो घाउ बनेको छ छोरी । भो नसम्झाउन यस्तो कुरा… (मलिन हुन्छिन शान्ति) (शिला दौडिदै पस्छ) के भो बाबु ?
शिला ः मामु मलाई विनयले जिस्काउँछ ।
शान्ति ः के भनेर जिस्कायो ?
शिला ः हाम्रो बाबा काम गर्न विदेश गाको रे ।
सौरभी ः अनि उस्को बाबापनि यहाँ काम नै त गर्छ नी !
शान्ति ः भै गो भन्न देउ । हामी जो जहाँ गएपनि काम गर्नैपर्छ । परिश्रम नगरी राम्रो फल पाईन्न । त्यसैले मेहिनत र परिश्रम सँधै गर्नुपर्छ के ।
सौरभी ः मामु भोलि त हाम्रो प्यारेन्ट्स डे हो नी । सर म्यामले सबैलाई बाबा आमा लिएर आउनु भन्नु भएको छ । जानुपर्छ है ।
शान्ति ः म भ्याउँदिन नानी । भोलि काममा जानुपर्छ । बाबाको राम्रो काम मिलेको छैन रे ? अस्ति फोनमा भन्नु भाको । यहाँ पैसाको कम्ती खाँचो हुन्न । एकदुई रुपैयाँ भएपनि काममा गएपछि पाईन्छ ।
(यतिकैमा शिक्षाको फोनमा आवाज आउँछ । शिक्षाले छोरीको हातबाट मोवायल लिएर)
शिक्षा ः हेल्लो… हेल्लो…..
फोन ः हेल्लो शान्ति … के गर्दै छौ ?
शिक्षा ः ए बाबा ठिकै छौँ । तँपाईको याद आयो भनेर सौरभी रोईरहेकी थिई । अनि सम्झाउँदै बसेको ।
फोन ः किन रोएकी त ? कि गालि गरेउ त ?
शान्ति ः होईन । एक्लै मोवायलमा तँपाईको फोटो हेरेर बर्बाउदै थिई । अनि नि अस्तीको परिक्षामा हाम्रो छोरी कक्षामा फस्ट भईन नि ।
फोन ः ए ल बधाई छ । छोरीलाई देउ त ।
सौरभी ः बाबा नमस्ते
फोन ः नमस्ते, के छ खबर ?
सौरभी ः ठिकै छ बाबा । हजुरको सारै याद आईरहेको छ । घरी घरी रुन मनलाग्छ । पढ्न मनपनि लाग्दैन । कहिले आउने बाबा तँपाई ?
फोनः म चाँडै आउँछु छोरी मन नडुलाउनु राम्रो पढ्नु अस्ति राम्रो भयो रे । म कति खुशी छु । अब केही दिनपछि अलिकती मामुलाई पैसा पठाउँछु मनपर्ने समानहरु किन्नु हस ।
सौरभी ः हस… बाबा
फोन ः ल छोरी मेरो काममा जाने बेला भईसक्यो राख्छु ल ।
सौरभी ः हुन्छ । बाबा खुशी लाग्यो । (फोन काटिन्छ)
 पर्दा बन्द

चौथो भाग

(विद्यालयको अभिभावक भेलाको व्यापक तयारी भई रहेको छ । कसैले मन्च व्यवस्थापन गर्दै छन् । कोही अथितिहरुलाई बसाउने मेसोमा छन् । मञ्चमा उद्घोषकले कार्यक्रमको शुरुवात गर्छन ।)
उद्घोषक ः नमस्कार यहाँहरु सबैलाई । यस हिलसाईड बोर्डिङ स्कुलको यो गरिमामय अभिभावक दिवसको अवसरमा पाल्नु भएका सम्पुर्ण अभिभावक, विद्यालयको संचालक समितिका सदस्यहरु, शेयर सदस्यहरु, विद्यालयका शिक्षक ज्युहरु र विद्यार्थी भाईबहिनीहरु सबैलाई विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु ।
कार्यक्रमको शुरुवातमा आजको यस प्यारेन्ट्स डे अर्थात अभिभावक दिवस कार्यक्रमको सभापतित्व गरिदिन हुन् यस विद्यालयका संचालक समिति अध्यक्ष ……………….. …… ज्युलाई हार्दिक अनुरोध गर्दछु । यस्तै सम्पुर्ण उपस्थित संचालक समिति सदस्य ज्युहरु, शेयर सदस्य ज्युहरु, अभिभावक ज्युहरु र शिक्षक तथा विद्यार्थी सबैलाई आ आफ्नो ठाउँमा आसन ग्रहण गरिदिन आग्रह गर्दछु ।
आसन ग्रहणपछि कार्यक्रममा विद्यालयमा सिकेका र अनुभव गरेका कुराहरुलाई राख्दै यस कार्यक्रममा पाल्नु भएका सम्पुर्ण महानुभावहरुलाई स्वागत गरिदिन हुन् यस विद्यालयका छात्रा सौरभीलाई यस मञ्चमा निम्त्याउँछु ।
सौरभी ः (मञ्चमा रहेको पोडियममा गएर बोल्न थाल्छीन्)
कार्यक्रमका सभाध्याक्ष महोदय,
प्रमुख अथिति, विशेष अथिति, सम्पुर्ण अथिति महानुभावहरु, अभिभावक ज्युहरु, गुरुवर्ग, विद्यार्थी साथीहरु । सबैलाई सबै भन्दा अगाडि कार्यक्रममा स्वागत छ ।
आज यस विद्यालयको अभिभावक दिवस । अभिभावक ज्युहरु सबै देखिनु भएको छ । एउटा विद्यार्थीलाई कुशल विद्यार्थी बनाउने अभिभावकहरुको सबै भन्दा ठुलो हात रहन्छ । विद्यालयको समय भन्दा फरक समयमा एउटा विद्यार्थीको सबै भन्दा ठुलो साहारा नै उसको अभिभावक हो । त्यसैले यस अभिभावक दिवसमा सबै भन्दा पहिले तँपाई सबै अभिभावक ज्युहरुलाई हार्दिक अभिवादन गर्दछु ।
मलाई यस विद्यालयको कार्यक्रममा बोल्ने मौका दिनु भएकोमा सबै गुरु गुरुआमा प्रति आभार व्यक्त गर्दछु । मलाई लाग्छ । म यस विद्यालयको एउटा विद्यार्थीमात्र पनि होईन । म एक प्रतिृनिधी पात्र पनि हुँ । म जस्तै यहाँ धेरै विद्यार्थी साथीहरु हुनु हुन्छ । तर म अलिक फरक छु । आज यस मञ्चमा उभिएर बोलि रहँदा सबै विद्यार्थी साथीहरुको अभिभावकहरु सँगै हुनुहुन्छ । सबैले आएर तालि बजाई राख्नु भएको छ । तर… (रोकिन्छ) तर… मेरो भने । मेरो बाबा अहिले अरब खाडीमा कुल्ली काम गर्दै हुनुहुन्छ । आमा साहुको बारीमा खन्दै हुनुहुन्छ । म कसरी हाँसु ? आजको यो अभिभावक दिवसको दिन । मेरो मनमा प्रश्न छ । मैले यी प्रश्नका उत्तरहरु अहिले कसरी पाउँला ? हाम्रा आदरणीय गुरुवर्ग र अभिभावक ज्युहरु र अथिति ज्युहरुले यो प्रश्नको उत्तरहरु खोजि दिनु हुनेछ भन्ने आशा राखेको छु ।
मैले मेरो अभिभावकसँग यस्तै अभिभावक दिवस मनाउन पाउने दिन चाँडै प्राप्त होस भन्दै अन्तमा सबैलाई फेरीपनि अभिवादन गर्दै विदा हुन्छु । हस धन्यवाद ।
( तालि बज्छ । यो सँगै एउटा गीत पछाडी बजिरहन्छ)

पर्दा बन्द

हिलसाईड बोर्डिङ स्कुल दिक्तेल–२ अल्छेढुँगामा अभिभावक दिवस २०७८ पुस १५ गते मञ्चन गरिएको 

तपाईको प्रतिक्रिया