लैंगिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ : प्रदेश सांसद राई (भिडियो सहित)

Halesi

खोटाङ, ९ माघ : प्रदेश नम्बर एकका सांसद उषाकला राईले समाजमा रहेको लैंगिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माइ, हुर्काइ अहिलेसम्मको अस्तित्वमा पु¥याउने आमाको निधनपछि कपाल मुण्डनगरी सेतो वस्त्र धारण गरेपछि हलुका र शक्तिशाली महशुष भएको सांसद राईले जानकारी दिनुभयो । आमाको निधनले शोकमा पर्नुभएकी सांसद राईले सर्वस्व दिने आमाको सम्मानमा एउटी छोरीले केश मुण्डन गर्नु ठूलो कुरा नभएको धारणा राख्नुभयो । “समाजमा रहिआएको लैंगिक विभेद अन्त्य गर्न आफ्नो केश मुण्डन गरेर सेतो वस्त्र धारणले शक्ति प्रदान गरेको छ ।” उहाँले भन्नुभयो, “जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मा सन्तुष्टीको लागि र आमाको आत्माको चिर शान्तिको लागि केश मुण्डन गरेर किरियापुत्री बसेकी हुँ ।”

खोटाङको दिक्तेलमा बुधबार आयोविजत पत्रकार भेटघाटमा बोल्नुहुँदै सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर, छोरीले गर्न नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको औंल्याउनुभयो । “छोरा–छोरी दुवै सन्तान भएकोले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्छ ।” उहाँले भन्नुभयो, “सबै छोरीले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभइ आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि बुबाआमाको काजकिरिया बस्दा हुन्छ ।” बुबाआमाको काजकिरिया कसरी बस्ने अर्थात श्रद्धा र सम्मान कसरी गर्ने भन्ने स्वविवेक, स्वेच्छा तथा स्वनिर्णय भएको उहाँको तर्क छ । तर, एउटै कार्य छोराले गर्न मिल्ने र सोही कार्य छोरीले गर्न नमिल्ने भन्ने नहुने उहाँको धारणा छ ।

समानताको आधारमा समतमूलक र समृद्ध समाज निर्माणका लागि समाजमा रहेका विभेद अन्त्य गर्नुपर्ने सांसद राईले बताउनुभयो । लामो संघर्ष तथा वलिदानपछि मूलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि पहिलो सर्तको रुपमा रहेको विभेदहरुको अन्त्य अझै पनि हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । मूलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, साँस्कृतिक तथा संस्कारगत रुपमा परिवर्तन हुन नसकेको उहाँले बताउनुभयो । “अबको पहिलो काम सामाजिक–साँस्कृतिक पाटो सुधार गर्नुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो । सांसद राईको आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो । काठमाडौंमा पाँच दिन काजकिरियामा बस्नुभएकी सांसद राईले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर सात दिन बसेर आमाको काजकिरिया पूरा गर्नुभएको हो ।

दाजुभाइ कोही नभएकी सांसद राई छोराले मात्र किरियापुत्री बस्ने प्रचलनका बिरुद्ध आफै किरियापुत्री बस्नुभएको थियो । सासुको काजकिरियाका लागि सांसद राईका श्रीमान पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आउनुभएको थियो । सांसद राईले मृतक आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्नेगरी अक्षयकोष स्थापना गर्नुभएको छ । आमाको १३ औं पुण्य तिथिको अवसर पारेर सोमबार आयोजना गरिएको श्रद्धाञ्जलीसभामा उहाँले अक्षयकोष स्थापना गर्नुभएको हो । आगामी माघ १५ गते वैद्धिक परम्परा अनुसार काठमाडौंमा पूजा तथा ४५ औं पुण्यतिथिमा काठमाडौंमै श्रद्धाञ्जलीसभा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । सांसद राई र उहाँका श्रीमान पूर्व कानूनमन्त्री तामाङ बुधबार नै काठमाडौं फर्कनुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया