खोटाङ, माघ ७ ः कपाल मुण्डन गरेर किरियापुत्री बसेकी खोटाङ प्रदेशसभा सदस्य उषाकला राईले मृतक आमाको नाममा १० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको छ । ७५ वर्षको उमेरमा आमा लक्ष्मी राईको गत पुस २५ गते निधन भएपछि कपाल खौरिएर किरियापुत्री बस्नुभएकी प्रदेशसभा सदस्य राईले मृतक आमाको १३ औं पुण्यतिथिको अवशरमा सोमबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा शिक्षाका क्षेत्रमा उपयोग गर्नेगरी अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको हो ।
आमा लक्ष्मीको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतीका लागि सहयोग गर्नेगरी अक्षयकोष स्थापना गरेका प्रदेशसभा सदस्य राईले बताउनुभयो । श्रद्धाञ्जली कार्यक्रममा वोल्दै उहाँले भन्नुभयो, समाजमा छोरा सरह छोरीलाई मान्यता दिनुपर्छ भन्ने चेतना सबैमा जागोस भनेर मैले कपाल मुण्डन गरेर आमाको किरिया बसेकी हुँ ।
काठ्माण्डौंमा ५ दिन काजकिरियामा बसेकी उषाकलाले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर ७ दिन किरियामा बसेर आमाको काजकिरिया पूरा गरेकी छन् । ग्राण्डी अस्पतालमा उपचारकाक्रममा आमा लक्ष्मीको निधन भएपछि उषाकला कपाल मुण्डन गरेर १३ दिनका लागि आमाको काजकिरियामा बसेकी हुन् । आगामी माघ १५ गते वैद्धिक परम्परा अनुशार काठ्माण्डौंमा पूजा तथा ४५ औं पुण्यतिथिमा काठ्माण्डौंमै श्रद्धाञ्जलीसभा गरिने पारिवारिक श्रोतले बताएको छ ।
२००१ साल कात्तिक ७ गते जन्मिएकी लक्ष्मी काठ्माण्डौंमा छोरी उषाकला र र ज्वाई शेरबहादुर तामाङ (पुर्व कानूनमन्त्री)सँग बस्दै आएकी थिईन् । दाजुभाई नभएकी उषाकला छोराले मात्र किरियापुत्री बस्ने प्रचलनका बिरुद्ध आफै किरियापुत्री बसेकी हुन् । सासुको किरियाका लागि ज्वाँई शेरबहादुर पनि खाल्लेमै आएका छन् । आमाको निधनमा कपाल मण्डन गरेर सेतो कपडा पहिरिएर किरियापुत्री बसेकी उषाकलाप्रति अहिले सम्मान, सद्भाव र समबेदना प्रकट भइहेका छन् ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेता, ध्रुब बुढाथोकी, रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकाल, अनेमसंघ जिल्ला अध्यक्ष मनिषा राई , आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य ध्रुब कार्की, निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष मोहन भट्राई, कर्मचारी नेता मणिराम ढकाल, युवा संघका उपाध्यक्ष, रसकुमार राई लगाएतको उपस्थीती रहेको थियो ।