खोटाङ, ६ माघ ः हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराहरुको सामुहिक चौतारा बनाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङ गढी जाने बाटोमा होलेसुङ समूहले संकलन गरेको चन्दाबाट सामुहिक चौतारा निर्माण गरिएको हो ।
चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदाहोँछो र कान्छा तातेसुङहोँछाको छुट्टाछुट्टै नाम लेखिएको शिलालेख राखिएको छ । होलेसुङ गढी जाने पदमार्गमा निर्माण गरिएको सामुहिक चौतारामा पछिल्लो समय किराती सभ्यता अध्ययन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
करीब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलैसुङको स्मृतिमा उहाँका छोराहरुको नाममा सामुहिक चौतारा निर्माण गरिएको होलेसुङ समूहका संयोजक जनकराज राईले बताउनुभयो । “होलैसुङ राजाले हलेसी क्षेत्रमा प्रथम कविलाको रुपमा शासन सञ्चालन गरेका थिए ।” उहाँले भन्नुभयो, “हाम्रो इतिहास होलैसुङ राजाको सम्मान र सम्झनामा उहाँका छोराहरुको नाममा सामुहिक चौतारा निर्माण गरिएको हो ।”
जानकारहरुका अनुसार पछिल्लो समय उनै होलैसुङ राजाको नामबाट पछि गएर हलेसीको नाम रहेको जनाइएको छ । होलैसुङ राजाका साइँला छोरा जिताहोँछाका नाती भ्वाँरमहोँछाले शासन गरेको समयमा वि.सं. १८३० साल भदौमा पृथ्वीनारायण शाहको सेनाले आक्रमणगरी सत्ता कब्जा गरेको इतिहासमा उल्लेख छ ।
अहिलेसम्म ओझेलमा रहेको गढीमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई तलव बितरण गरेको इतिहास भेटिएको छ । पृथ्वीनारायण शाहको आक्रमणपछि भ्वाँरमहोँछाका शाखासन्तान हलेसीमा नरहेको किराती पूर्खाहरु दाबी गर्छन् ।
हलेसीको नामाकरण होलैसुङ राजाको नामबाट रहेको आधार भेटिएपनि किराती मुन्दुममा बुइँदली र चाम्रोपाले उक्त क्षेत्रमा किरात बस्ती बसालेको जनाइन्छ । होलैसुङ बुइँदली र चाम्रोपाका नाती होमैखुङका छोरा रहेको इतिहासमा उल्लेख छ ।
तिनै किराती पूर्खाहरु खोक्चिलिपा, तायामा र खियामा रहेको स्थानीय रोमबहादुर राईले जानकारी दिनुभयो । उनीहरु हलेसी गुफामा बस्ने र तुवाचुङमा गएर तान बुन्ने गरेको हलेसी क्षेत्रका किरातीहरुको दाबी छ ।
अहिले पनि किराती राजाहरुले प्रयोग गरेको बैथर भनिने ढुङ्गाको हतियार हलेसी क्षेत्रका किरात बस्तीमा देख्न पाइन्छ । उक्त ढुङ्गे हतियार चार हजार वर्ष पहिले बनेको उक्त बस्तीका किरातीहरुले अनुमान गरेका छन् ।
लामो समय राज्यसत्ता सञ्चालन गरेको होलेसुङ गढी अग्लो डाँडामा रहेकाले उक्त ठाउँबाट हलेसी गुफा, तुवाचुङ–जायजुम, उत्तरी क्षेत्रमा पर्ने हिमालय श्रृंखला, तराईका समथर भु–भाग समेतको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु, बौद्ध र किरात धर्मालम्वीको संगमस्थलका रुपमा रहेको होलेसुङ गढी क्षेत्र रमणीय ठाउँ भएकाले पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।
होलेसुङ गढीले गोरखा दरबार, पाटन दरबार, किर्तीपुर दरबारकोजस्तै ऐतिहासिक महत्व बोकेपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । किराती सभ्यता बोकेको होलेसुङ गढीको अस्तित्व पछिल्लो समय क्रमशः मेटिदै गएकाले नगर र स्थानीयवासीले गढीको संरक्षणमा चासो देखाएका छन् ।
मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथिल्लो भागमा रहेको होलेसुङ गढीमा राजा र सेनापती बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत रहेको छ । सैनिक परेड खेल्ने मैदान, गढी वरिपरी हिँड्ने रिङ रोड, सुरुङ लगायतका संरचना अहिले पनि देख्न सकिन्छ ।
किराती इतिहास बोकेको पुरानो गढी उत्खनन् गर्न विशेषज्ञसहित बजेट व्यवस्थाका लागि पुरातत्व बिभाग समक्ष पहल भइरहेको नगरप्रमुख इवन राईले बताउनुभयो । “गढीको ऐतिहासिक महत्वलाई उजार गर्नु र प्रकाशमा ल्याउन नगरपालिकाको तर्फबाट उत्खनन् गर्ने तयारी गरिएको छ ।” उहाँले भन्नुभयो, “उत्खनन्ले गढीको इतिहासको संरक्षणमा टेवा पुग्नुका साथै, पर्यटन प्रवद्र्धन गरेर नगरवासीको आयआर्जनमा समेत टेवा पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।”
होलेसुङ गढी त्रिधार्मिकस्थल हलेसीबाट करीब चार किलोमिटर दक्षिणमा पर्दछ । मध्यपहाडी लोकमार्गमा पर्ने जयराम–हलेसी सडकदेखि करीब ५०० मिटरमाथि रहेको होलेसुङ गढीको प्रवेशद्धार नगरपालिकाको लागनीमा निर्माण गरिएको छ ।