विमानस्थलको गाह्रो गुणस्तरहीन बन्दै, मापदण्ड पूरा गर्न नगरपालिकाको निर्देशन

Halesi
0 Shares

खोटाङ, ४ माघ ः धावनमार्गमाथिबाट बगेको भलपानीका कारण पहिरो गएको मनमायाँ राई खानीडाँडा विमानस्थलमा निर्माणाधीन गाह्रो गुणस्तरहीन बन्दै गएको पाइएको छ । गत जेठ १ गते दिउसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीले कटान गर्दा विमानस्थलको दक्षिणपूर्वी भागमा गएको पहिरो नियन्त्रण गर्न निर्माणाधीन गाह्रो गुणस्तरहीन बन्दै गएको पाइएको हो । पहिरो गएको लामो समयपछि ठेक्का प्रक्रियाबाट निर्माण कार्य थालिएको गाह्रो गुणस्तरहीन भएको गुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा गाह्रो निर्माणमा प्रयोग गरिएको बालुवा लगायत निर्माण सामग्री कमसल भएको पाइएको अनुगमन टोलीले जनाएको छ । निर्माण सामग्री गुणस्तरहीन भएको पाइएपछि ठेकेदार कम्पनीका सञ्चालकलाई फोन गरेर गुणस्तर निर्धारण गर्न आग्रह गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “विमानस्थल जस्तो संवेदनशील क्षेत्रको भौतिक संरचना गुणस्तरीय हुनुपर्छ ।” उहाँले भन्नुभयो, “पहिरो नियन्त्रणका लागि निर्माणाधीन गाह्रोमा प्रयोग गरिएका बालुवा लगायत निर्माण सामग्री गुणस्तरहीन भएकाले गुणस्तरलाई कायम गर्दै छिटोभन्दा छिटो काम सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरिएको हो ।”

निर्माणाधीन गाह्रो लगायतमा प्रयोग हुने सामग्रीमा गुणस्तर कायम गर्न आफू प्रतिवद्ध रहेको ठेकेदार कान्छाराम तामाङले बताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणको करीब रु. सात करोड लागतमा कान्छाराम कन्ट्रक्शन प्रा.लि.ले पहिरो रोकथामका लागि गाह्रो निर्माणको जिम्मा लिएको हो । भलपानीका कारण छेउबाट शुरु भएको पहिरो कालोपत्रे गरिएको धावनमार्गसम्म पुगेको छ । पहिरो गएलगत्तै तत्काल माटो हटाएर भलपानीलाई ढलमार्फत निकासा गर्ने व्यवस्था नगरिएका कारण ठूलो क्षति भएको स्थानीयले बताएका छन् । भलपानी थुनिएर शुरु भएको पहिरो करिब ५० मीटर फराकिलो भएर करीब ३०० मिटर तलसम्म झरेको छ । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको हो । विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको विमानस्थल गुणस्तरहीन बनेको यसअघि नै गुनासो आएको थियो । करीब तीन वर्षअघि मात्र कालोपत्रे गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सबैभन्दा नजिक रहेको विमानस्थलमा पहिरो गएलगत्तैदेखि उडान तथा अवतरण अवरुद्ध छ । विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएपछि सबैभन्दा बढी जिल्ला अस्पताल खोटाङबाट अन्यत्र रिफर गरिएका बिरामी मर्कामा परेका छन् । तीन वटा विमानस्थल रहेको खोटाङ जिल्लामा अहिले कुनै पनि सञ्चालनमा छैन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क र उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा कालोपत्रेको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया