एमबिबिएस भर्नामा निजी मेडिकलले गैरकानुनी रूपमा शुल्क असुल, सरकारले तोकेभन्दा १४ लाख बढी असुलेको खुलासा

Halesi

चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाएको भेटिएको हो ।

नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । विभिन्न सेवा शीर्षक राखेर सरकारले तोकेभन्दा १४ लाख बढी शुल्क असुलेको पीडित विद्यार्थीले नयाँ पत्रिकालाई बताए । कलेजले दुईथरी बिल बनाउने गरेको पनि उनीहरूको भनाइ छ । नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले सरकारी निर्णय उल्लंघन गर्दै भर्ना शुल्कमा मनोमानी गरेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि स्विकार्छन् । शुल्क तोके पनि सरकारले कार्यान्वयनमा कडाइ नगर्दा मेडिकल कलेजहरूले मनलाग्दी गरिरहेको उनले बताए । ‘मेडिकल कलेजहरूले निर्धारण गरेको शुल्क गैरकानुुनी छ, तर सरकारले आफ्नै निर्णय कार्यान्वयन गरेको छैन,’ अग्रवालले भने ।

सरकारले उपत्यकामा ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार तोकेकोमा थप १४ लाखसम्म असुल

उदाहरण : नेसनलले यसरी उठायो ५५ लाख ८५ हजार

-भर्ना :३५ हजार

-ल्याब : १ लाख ४० हजार

-ट्युसन : ४२ लाख ४५ हजार

-पुस्तकालय : १ लाख ४० हजार

-परीक्षा : १ लाख ४० हजार

-दर्ता : २० हजार ६ सय

-खेलकुद र अन्य : १ लाख ६० हजार

-प्रमोसन : ३ लाख ७५ हजार

-भ्रमण : १ लाख

-आइओएम इन्स्टिच्युसनल : ५० हजार

-सम्बन्धन : ३० हजार

-क्लिनिकल ट्रेनिङ : १ लाख ५० हजार

-होस्टेल : ८५ हजार (वार्षिक)

-मेस : ९० हजार (वार्षिक)

बढी पैसा लिएर भर्ना गरेका छन्
प्रा.डा. जगदीश अग्रवाल, डिन, आइओएम

मेडिकल कलेजहरूमा विदेशी विद्यार्थी भर्नाको समस्या यसपटक देखिएको छैन । सरकारले तोकेको शुल्कका आधारमा रकम नलिनु अहिलेको समस्या हो । मेडिकल कलेजहरूले तोकेको शुल्कमा पढाउन नसक्ने भनेर सार्वजनिक सूचना निकालेका थिए । उनीहरूले सार्वजनिक रूपमै सरकारको निर्णयलाई अस्वीकार गरेका छन् । तर, हामी उनीहरूलाई केही कारबाही गर्न सकिन्छ कि भनेर लागेका छौँ । कस्तो र के कारबाही भन्ने कुरा अहिले यकिन भएको छैन । काठमाडौंभित्र ३८ लाख ५० हजार र बाहिरको हकमा ४२ लाख ४५ हजार तोकिएको छ । सरकारले तोकेभन्दा बाहिर गएर उनीहरूले कानुनी रूपमा मेस र होस्टेलको बेग्लै लिन सक्छन् । यही शीर्षकमा पनि उनीहरूले बदमासी गरेको देखिन्छ । लिनुपर्नेभन्दा दोब्बर रकम लिएको गुनासो पनि आएको छ । सरकारले तोकेको शुल्कमा भर्ना गराउने दायित्व सरकारकै हो । तोकेभन्दा बढी शुल्क लिने कलेजलाई कारबाहीको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।

सीधै कारबाही गर्न मिल्ने कानुन भएन
रामप्रसाद आचार्य, सिडिओ, काठमाडौं

सरकारले मेडिकल कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्नू भनेर परिपत्र गरेको छ । तर, कुन नियम–कानुनमा टेकेर कारबाही गर्ने भन्ने यकिन छैन । उजुरी आएमा जिल्ला प्रशासन कार्यालय भएको नाताले पनि हामी कानुन खोजेर बस्ने पक्षमा छैनौँ । सरकारी वकिलसँग यस विषयमा छलफल गर्नुपर्ने देखिएको छ । तर, कसैले बढी रकम लिएको छ भन्ने उजुरी गरेमा प्रहरीलाई परिपत्र गरेर भए पनि हामी कारबाही गर्नेछौँ । विद्यार्थी र अभिभावक कलेजको डरका कारण पनि खुल्न चाहेको अवस्था छैन । प्रचलित कानुनअनुसार नभएकाले हामीले पनि यो विषयलाई गम्भीरताका साथ भने लिएका छौँ । नयाँपत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया