धार्मिक तथा पर्यटकिय स्थल भानुमतीमा धार्मिक महोत्सव सुरु

Halesi

भुमिका न्यौपाने
खोटाङ, खोटाङको धार्मिक तथा पर्यटकिय स्थल भानुमतीमा धार्मिक महोत्सव सुरु भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सावा खोलाको मध्य भागमा पर्ने भानुमतीलाई प्रवर्धन गर्नका लागि महोत्सव सुरु भएको हो । भानुमतीमा बुधबारबाट सप्ताह ज्ञान महापूराण पनि सुरु गरिएको छ । महोत्सवको उद्घाटन खोटाङ जिल्लाका प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईले गर्नु भएको हो । भानुमतीको धार्मिक पर्यटन प्रवर्धनसंगै चौतर्फी विकास गर्दै प्रचार–प्रशार गरेर देश तथा विदेशमा पु¥याउँने उदेश्यले महोत्सव सुरु गरिएको बताईको छ ।

जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमती धामको पर्यटन पवर्धन, मन्दिर परिषरमा जग्गा खरिद वार्षिकरुपले मकर मेला आयोजना र घाट व्यवस्थापन गर्नका लागि सप्ताहा महायज्ञको आयोजना गरिएको भानुमती खुट्टेश्वर मकर महोत्सव त्रिवेणी घाट मूल आयोजक समितिका अध्यक्ष मोहन सुप्तिहाङ राईले जानकारी दिनुभयो ।

भानुमतीमा खुट्टेश्वर महादेव उत्पन्न भएर बसेको पाईन्छ । सत्य यूगमा सत्यदेवी दक्ष प्रजापतीकी जेठी छोरी हुन्छिन् । ३३ कोटी देवतालाई दक्ष प्रजापतीले सवै छोरीको कन्यादान गर्छन्, तर सत्यदेवीलाई घरको रेखदेख गर्न छोरा नभएका कारण दक्ष प्रजापतीले राख्छन् । सोही बखत सत्यदेवीलाई श्रीमहादेव विहे गर्न भनि कन्यादान माग्न आउँछन् । सत्यदेवी घरको छोरोको रुपमा राखेको भनेर दक्ष प्रजापतीले श्रीमहादेवलाई कन्यादान गर्दैनन् उल्टै महादेवलाई गलहत्याएर घरबाट निकाली दिन्छन् । त्यसपछि विष्णु भगवानले आफुलाई कन्यादान गर्न भनि दक्ष प्रजापतीसंग सत्यदेवीलाई मागी छल गरेर श्रीमहादेवसंग विहे गराई दिन्छन् ।

दक्ष प्रजापतीले सत्यदेवीलाई श्रीमहादेवले विहे गरेको थाहा पाएपछि आफ्नो घरमा ३३ कोटी देवतासंगै सारा देवतालाई आफ्नो महायज्ञमा निम्तो गरेको तर श्रीमहादेवलाई भाङ, धतुरो खाने, बागको छाला ओड्न, खरानी घस्ने, साँडे गोरुमा चडेर हिड्ने बहुलाजस्तो भनेर जेठी छोरी सत्य देवी र ज्वाई श्रीमहादेवलाई निम्तो गर्दैनन् ।

आफ्ना पिता दक्ष प्रजापतीले महायज्ञ गरेको सत्यदेवीले थाहा पाएपछि आफ्नो माईती घरमा आएर उनले दक्षप्रजापतीले आयोजना गरेको महायज्ञको अग्नीकुण्डमा हाम फालेर आत्मा हत्या गर्छिन् । त्यसपछि श्रीमहादेव पागल भई सत्यदेवीको मृत शरिरलाई काँधमा हाली संसार घुम्छन् । त्यसपछि सत्यदेविको एक पछि अर्को गर्दै शरिरका सम्पूर्ण अंगहरु पतन हुँनेक्रममा भानुमतीमा सत्यदेवीको वाँया खुट्टा पतन हुन्छ । जहाँ –जहाँ सत्यदेवीका अंगहरु पतन भएका छन् । त्यहाँ त्यहाँ श्रीमहादेव उत्पन्न भएको हामीले श्रीस्वस्थानी बर्त कथाको पूस्तकमा पढ्न पाउँछौं । भानुमतीमा सत्यदेवीको देव्रे खुट्टा पतन भएपछि त्यहाँ खुट्टेश्वर महादेव उत्पन्न भएको स्वस्थानीको पूस्तकमा उल्लेख छ ।

यसकारण भानुमतीमा हरेक वर्षको पौष अन्तिम देखि माघ १ गतेसम्म मकर नुहाउँने पनि चलन रहेको छ । साथै भानुमती मृत शरिरहरुको दाह सत्कार गर्ने मुख्य थलोको रुपमा रहेकोले दिगंवत आत्मा र आफ्ना पितृहरुको लागि रुद्री पाठलगायतका पूजा आजा दैनिक लगाउँने गरिएको छ । भानुमती जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा र प्रचार प्रशार नगरिँदा ओझेलमा परेको छ ।

तपाईको प्रतिक्रिया