साझेदार संस्था छनौटमा प्रक्रिया मिचेको भन्दै क्रिस्चियन एडविरुद्ध अख्तियारमा उजुरी

Halesi

खोटाङ, २५ पुस । साझेदार संस्था छनौटमा विधि र प्रकृया मिचेको आरोपसहित क्रिस्चियन एड नेपाल विरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि साझेदार संस्था छनौट गर्नेक्रममा क्रिस्चियन एड जावलाखेलले नियतवस र अपारदर्शी तरिकाले खोटाङस्थित बालसेवा समाज नेपाल छनौट गरेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा उजुरी परेको हो ।
जिल्लामा सञ्चालनको तयारी गरिएको ‘रिसाइलेन्ट लाइभ्लीउड एण्ड मार्केट लिंकेज वीथ इन्टग्रेटेड अप्रोच अफ जेसी, डिजास्टर रिकस् रिडक्सन एण्ड क्लाइमेट चेञ्ज’ कार्यक्रमका लागि विधि र प्रकृया मिचेर साझेदार संस्था छनौट गरेको खुलासा भएको छ । क्रिस्चियन एडको सूचनामा प्रस्तावना–पत्र पेश गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको भए पनि सोभन्दा पछाडि संस्था नवीकरण गरेको, सो म्यादभन्दापछि राजस्व चुक्ता गरेको बाल सेवालाई छनौट गरिएको भन्दै जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राई र नवकिरण सेवा समाजका अध्यक्ष दिपबहादुर राईले अख्तियारमा उजुरी दिएका हुन् ।
प्रस्ताव पेश गर्ने अन्तिम म्याद सकिएको २० दिनपछि बालसेवा समाजले असोज २५ गते आन्तरिक राजस्व कार्यालय लाहानबाट संस्था नवीकरण गर्न बाधा छैन भन्ने व्यहोराको पत्र लिएको, असोज २६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बालसेवाको नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस पत्र दिएको, सोही दिन प्रशासनमा संस्था नवीकरण गरेको संस्थालाई साझेदार छानिएको अख्तियारलाई दिइएको उजुरीमा उल्लेख छ । संस्था छनौट गर्नेक्रममा अपनाइएका विधि र प्रकृया अपारदर्शी, अवैधानिक र शंकास्पद देखिएकाले प्रचलित कानून अनुसार छानबीनगरी कारबाही गर्न उजुरी दिएको जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले बताए ।
तोकिएको म्यादभित्र कन्सेप्ट नोट्स एण्ड एक्सप्रेसन अफ इन्टेरेष्टका लागि आवश्यक पूर्ण कागजात नबुझाएका संस्थालाई अपारदर्शी र अवैधानिक तरिकाले छानिएको भन्दै असन्तुष्ट जनसेवा समाज र नवकिरण सेवा समाजले गत मंसिर १४ गते पनि क्रिस्चियन एड समक्ष संस्था छनौट प्रकृयाप्रति गम्भीर ध्यानाकर्षण र असहमती जनाएका थियो । संस्था छनौट प्रकृयाका विषयमा सूचना माग गरेको करिब ४० दिनपछि क्रिस्चियन एडले पुस २३ गते प्रलोभनमा पार्ने र गैर–जिम्मेवार तरिकाले जवाफ दिएको उनीहरुको भनाइ छ ।
१ डिसेम्बर २०१८ देखि ३० मार्च २०२१ सम्म सञ्चालन हुने कार्यक्रमका लागि क्रिस्चियन एडको एक करोड ४७ लाख ५९ हजार ९९७ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ लाख खर्च हुने बाल सेवाका परियोजनाका व्यवस्थापक युवराज रिजालले पुस १६ गते पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । उजुरी बुझ्दै प्रजिअ सुरेन्द्रराज पौडेलले सम्बन्धित निकायमा पु¥याएर सहयोग गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया