भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिकाले मोबाईल एप संचालनमा ल्याएको छ।
गाउँपालिकाका गतिबिधिलाई सहजिकरण गर्न तथा सेवाग्राहीलाई कागजी प्रक्रियाबाट बिस्तारै डिजीटल प्रबिधिमा अभ्यस्त पार्न यो एप संचालनमा ल्याईएको गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत ईश्वर प्रसाद भट्टले बताउनु भयो। अधिकृत भट्टका अनुसार अब सेवाग्राहीले समस्या दर्ता मोबाईल एपबाटै गर्न सक्नेछन् भने गाउँपालिकाले दिने सेवाका प्रक्रितीका बिबरण एपबाटै हेर्न सक्नेछन्। सबै छ वटै वडाका बिबरण, गाउँपालिकाका कर्मचारीको बिबरण, सूचना तथा समाचारहरु, नीति तथा कार्यक्रम र बार्षिक बजेट पनि एपबाटै हेर्न मिल्ने ब्यवस्था गरिएको उनको भनाई छ।
भोजपुरका ९ वटा स्थानिय निकायमध्ये सरकारद्वारा हालै गरिएको बर्गीकरणमा अति दुर्गममा परेको यो गाउँपालिका सडक निर्माण, शिक्षामा सुधार, आधुनिक संचार प्रबिधिको प्रयोग, स्वास्थ्य चेतनामा सुधार जस्ता कार्यक्रम मार्फत मध्यम दुर्गमको तहमा उक्लिने प्रयासमा छ। पूर्ववर्ती दोभाने गाबिसको पछिल्लो बिभाजनमा परेका अहिलेका वार्ड नं ५ र ६ जिल्लाकै सबैभन्दा दुर्गम वार्ड मानिन्छन्। यहाँ कच्चि सडक एक बर्ष अघि खनिएका हुन् भने यहाँका बासिन्दालाई ईर्खुवा खोलाका असंख्य ठाउँमा बाँस तथा काठ निर्मीत अस्थाई फट्केबाट वारीपारी गर्नुपर्ने बाध्यता छ। वार्ड नं ५ र ६ का अधिकाँश ठाउँमा मोबाईलको नेटवर्क शुन्य रहेको अवस्था छ।
प्राक्रितिक श्रोत साधनको भण्डारनै रहेको दोभाने क्षेत्रमा स्थानिय निकाय, प्रदेश तथा केन्द्रीय सरकारको लगानी प्रचुर पुग्ने हो भने जडिबुटी उत्पादन तथा प्रशोधन साथसाथै पशुपंक्षीजन्य उद्धोगमा यो क्षेत्र लगायत सिंगो गाउँपालिका क्षेत्रको राम्रो बिकाश हुने स्थानिय जनताको मत छ।