खोटाङ, २४ पुस ः हलेसी तुवाचुङ नगरपालिकामा आयोजित चार दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नगरपालिकाको प्रत्येक वडामा एक÷एक जना व्यवसायिक पत्रकार उत्पादन गर्ने उद्देश्यले आयोजित चार दिने आधारभूत पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख इवन राईले विश्वसनीय र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिनुभयो । “देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउनुहुँदैन ।” उहाँले भन्नुभयो, “विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढङ्गबाट समाचार सम्प्रेषण गर्नुस् । तपाईहरुलाई नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग हुनेछ ।”
गाउँठाउँमा बसोवास गर्ने हरेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक एवम् तुवाचुङ साप्ताहिक पत्रिकाका प्रबन्धक÷सम्पादक दिपेन्द्र राईले बताउनुभयो । “हामीले एक वडा, एक पत्रकार उत्पादन गर्ने लक्ष्य लिएका छौं ।” उहाँले भन्नुभयो, “सहभागी प्रशिक्षार्थीलाई आ–आफ्नो क्षेत्रमा हुने गतिविधिलाई समाचार बनाउन सक्ने बनाएर सम्प्रेशन गर्ने सञ्चारमाध्यमको व्यवस्था पनि गरिएको छ ।”
समापन कार्यक्रममा सहभागी वक्ताहरुले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई आग्रह गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख विमला राई, अग्रज पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभाषद् दिलिप खत्री, प्रदेश सभाषद् केदार मगर, जिल्ला सचिव उत्तम चौलागाई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई व्यवसायिक पत्रकार बनाउन रिफ्रेशन तथा एड्भान्स तालिम समेत दिइने आयोजकले जनाएको छ । नगरपालिकाको आयोजना तथा तुवाचुङ साप्ताहिक पत्रिकाको सहजीकरणमा आयोजित पत्रकारिता तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण राजधानी काठमाडौं तथा जिल्लामा रहेर लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका अग्रज पत्रकारहरुले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीलाई पत्रकार, पत्रकारिता, समाचार लेखन, सम्प्रेशन, सञ्चारमाध्यम, पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको थियो ।