खोटाङ, १९ पुस ः जिल्लाका दश वटै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेलबजार धाउनुपर्ने बाध्यता हटेको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रीत बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेको छ । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोबार तथा सर्वसाधारणलाई सहज भएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, ऐसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा कृषि विकास बैंक र सालपा विकास बैंक, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा बैंक, साकेला गाउँपालिकामा एस.बी.आई. बैंक र बराहपोखरी गाउँपालिकामा सनराईज बैंकको शाखा विस्तार गरिएको छ ।
जिल्लाको ऐतिहासिक एवम् धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकामा सालपा विकास बैंक, सेन्चुरी बैंक र माछापुच्छ्रे बैंकको शाखा विस्तार गरिएको छ । माछापुछ्रे बैंकले उक्त नगरपालिकाको राजापानी, मङ्गटार, अर्खौले, धितुङ र च्यास्टिारमा सेवा केन्द्र पनि सञ्चालन गरेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा तीन वटा भन्दा बढी बैंकको शाखा तथा सेवा केन्द्र विस्तार गरेर सञ्चालनमा ल्याइएको छ ।
सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरुले बताएका छन् । “बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई दिन पैदल हिडेर दिक्तेलबजार पुग्नुपथ्र्यो ।” ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भन्नुभयो, “अहिले आफ्नै गाउँपालिकामा बैंकको शाखा विस्तार भएपछि दिक्तेलबजार धाउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको छ ।”
हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्ने सरकारको नीति अनुरुप जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने सरकारको नीतिमै उल्लेख छ ।” उहाँले भन्नुभयो, “विस्तार गरिएका बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था पनि सरकार आफैले गर्छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ् काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक लगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास बैंक, ज्योति विकास बैंक लगायत सञ्चालनमा रहेका छन् । देश संघीय संरचनामा जानुअघि सबै सरकारी कार्यालय रहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दर्जनभन्दा बढी सहकारी संस्था तथा लघुवित्तहरु पनि सञ्चालनमा रहेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा विस्तार गरिएको बैंकको बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीको गस्ती टोली खटाइएको छ । बैंकको शाखा नजिक पर्ने प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चौबीसै घण्टा बैंकको सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ ।
दश वटै स्थानीय तहमा बैंक स्थापना, दिक्तेलबजार धाउनुपर्ने बाध्यता हट्यो
Halesi
21
Shares
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा आज दिउँसो २:२० बजेबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु हुँदै
- २. ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’को तयारी पूरा
- ३. एमाले कोशी प्रदेश समिति उपसचिवमा देवान राई भारी मतान्तरले विजयी
- ४. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- ५. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ६. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक