स्वच्छ र सफा नगर बनाउन २३ बुदे प्रतिवद्धतापत्रमा हस्ताक्षर, अटेर गर्नेलाई उचित कारबाही गरिने

Halesi

खोटाङ, १७ पुस ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्वच्छ, सफा र सभ्य नगर बनाउन २३ बुदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाले मङ्गलबार दिक्तेलमा आयोजना गरेको फोहर व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला व्यक्तिहरुले नगर प्रमुख दिपनारायण रिजालको रोहबरमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिवद्धतापत्रमा आफ्नो क्षेत्रको सरसफाइ आफै गर्ने, सार्वजनिकस्थलमा धुमपान तथा मध्यपान नगर्ने, नगरपालिकालाई लागू पदार्थ तथा दुव्र्यसनीमुक्त बनाउने, आफ्नो बालबालिकालाई सरसफाइ सम्बन्धी शिक्षा दिने, फोहरलाई मोहरमा रुपान्तरण गर्न नगरपालिकालाई सघाउ पु¥याउने, सडक पेटी तथा पेटीको माथिबाट झुण्ड्यार व्यापारिक सामग्री नराख्ने, सार्वजनिक कार्यक्रममा उत्पादित फोहर आयोजक आफैले व्यवस्थापन गर्ने, घरपालुवा जनावरलाई जथाभावी नछाड्ने, भौतिक संरचना निर्माण गर्दा अरुलाई असर गर्नेगरी नगर्ने, सवारी साधन जथाभावी पार्किङ नगर्ने लगायत उल्लेख छ । दिक्तेलस्थित होटल थ्रीबर्दशमा आयोजित हस्ताक्षर कार्यक्रममा सार्वजनिकस्थका शौचालय सधैं सफा राख्ने, कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै राख्ने, सङ्कलित फोहरलाई छुट्टाछुट्टै ट्याक्टरमा लगाउने, बाटो हिड्ने बटुवाले उत्पादन गरेको फोहरलाई नगरपालिकाले राखेको फोहर टोकरीमा लगाउन लगाउने, नगरपालिका र सरोकारवालाले गरेको निर्णयलाई उलङ्घन गर्ने तथा अटेर गर्ने व्यक्तिलाई जनप्रतिनिधि लगायतले उचित कारबाहीको लागि नगरपालिका समक्ष सिफारिस गर्ने जस्ता विषय उल्लेख छ ।
प्रतिवद्धतापत्रमा दिक्तेलबजारका विभिन्न छ वटा टोल सुधार समिति, उद्योग वाणिज्य सङ्घ, दिक्तेलबजार सामाजिक गुठी, यातायात व्यवसायी, होटल व्यवसायी, सरोकारवाला लगायतले हस्ताक्षर गरेका छन् । उनीहरुले आफ्नो नगरपालिकालाई आगामी तीन वर्षभित्र नेपालका सुन्दर तथा सफा सहरमध्ये सबैभन्दा पहिलो नगर बनाएर पुरस्कृत गराउने समेत प्रतिवद्धता जनाएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेलबजारमा लामो समयदेखि फोहरको डङ्गुर थन्किएर रहेकाले उक्त फोहरलाई व्यवस्थापन गर्दै स्वच्छ, सफा र सभ्य नगर बनाउन नगरबासी तथा सरोकारवाला व्यक्तिलाई प्रतिवद्ध बनाइएको नगर प्रमुख रिजालले बताउनुभयो । “सबै काम नगरपालिकाले मात्रै गर्न सक्ने सम्भवना हुँदैन ।” उहाँले भन्नुभयो, “नगरवासीलाई ‘आफ्नो ठाउँ आफै बनाऔं’ भन्ने भावनाको विकास गराउँदै आफ्नो क्षेत्रको सरसफाइ आफै गराउन प्रतिवद्ध बनाएका हौं ।”
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको तथा उत्पादन हुने फोहर व्यवस्थापनका लागि वडा नम्बर–५ लफ्याङमा व्यवस्थापन केन्द्र समेत बनाइ सकेको छ । नगरपालिकाबाट निस्कने फोहर व्यवस्थापन केन्द्रसम्म पु¥याउन नगरपालिकाले आफ्नै ट्याक्टर समेत खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया