काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका छन्।
उनले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे ।
सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरे । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताए ।
बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए । निःशुल्क श्ययाको समेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उहाँले सरकारको ध्यानाकर्षण गराए ।
सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए ।
सांसद विमला विकले झापामा चिया उद्योग गरिरहेका साना किसानलाई समेट्न वैज्ञानिक चिया नीति बनाउन माग गरे । सांसद गजेन्द्र महतले संसद्का कर्मचारीले दिएको सूचनाका आधारमा सञ्चारमाध्यमले सांसदका बारेमा समाचार प्रकाशित गरेको बताएयो ।