खोटाङ, ३० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईसहित परिवारका सदस्यले आफ्नो स्वर्गीय बुबाआको स्मृतिमा खार्मीस्थित कालिका माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । निजी श्रोतमा गत वर्षदेखि कक्षा–११ र १२ सञ्चालनमा ल्याइएको विद्यालयको शैक्षिकस्तर सुधार तथा निजी शिक्षकका लागि तलबभत्ता व्यवस्थापन गर्न वडाध्यक्ष राईको परिवारले रकम सङ्कलन गरेर स्वर्गीय बुबा किल्लबहादुर राई र आमा अमृतशोभा राईको स्मृतिमा विद्यालयलाई रु तीन लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।
वडाध्यक्ष राईसहित परिवारका सदस्यले सहयोग गरेको रकम विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक खरिद, शिक्षकहरुका लागि तलब तथा शैक्षिकस्तर सुधारमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “कक्षा–१२ सम्म सञ्चालित विद्यालयमा अहिले ३०७ जना विद्यार्थी अध्ययनरत छन् । एसइईको ग्रेड वृद्धिको नतिजा आएपछि कक्षा–११ मा विद्यार्थी थपिने अनुमान गरिएको छ”, त्यस विद्यालयका पूर्वशिक्षक समेत रहनुभएका विव्यास अध्यक्ष श्रेष्ठले भन्नुभयो, “निजी श्रोतबाट कक्षा–११ र १२ सञ्चालित यस विद्यालयमा वडाध्यक्ष ईखबहादुर राईको परिवारले गरेको आर्थिक सहयोगले विद्यालय सञ्चालनका लागि ठूलो टेवा पुगेको छ । यो अमूल्य सहयोग बिद्यालयको नीति बमोजिम अभिलेखीकरणसमेत गरिनेछ ं।”
वडाध्यक्ष राईको दाजु भलबहादुर राई लगायत परिवारको सदस्यबाट सङ्कलित रकमको चेक वडाध्यक्ष राईले प्रधानाध्यापक प्रकाश राई र कक्षा–११ र १२ सञ्चालनार्थ गठन गरिएको आर्थिक सङ्कलन समितिका संयोजक कृष्णकिशोर राईलाई हस्तान्तरण गर्नुभएको छ । वि.सं. २००९ सालमा स्थापना भएको त्यस विद्यालयमा कक्षा–११ र १२ सञ्चालनका लागि खार्मीस्थित सम्पूर्ण अभिभावक तथा देश÷विदेशमा रहेका शुभचिन्तकबाट चन्दा सङ्कलन गर्ने काम भइरहेको जनाइएको छ ।
विद्यालयका लागि गत वर्ष खार्मीस्थित तुर्खाका स्थानीय बासिन्दा एवम् भारतमा कार्यरत योग गुरु नरेन्द्र श्रेष्ठले रु एक लाखको पाठ्यपुस्तक उपलब्ध गराउनुभएको थियो । विद्यालयका लागि यसअघि साबिक खार्मी गाउँ विकास समितिका पूर्वगाविस अध्यक्ष एवम् वामपन्थी नेता बलराम राईले रु एक लाख एक हजार तथा त्यही विद्यालयका पूर्वप्रधानाध्यापकद्धय कृष्णकिशोर राई र उपेन्द्र श्रेष्ठले रु एक÷एक लाख तथा विव्यास अध्यक्ष क्षेष्ठले रु एक लाख सहयोग गर्नुभएको थियो ।
विद्यालयमा कार्यरत सबै शिक्षकले एक÷एक महिनाको तलब सहयोग गरेर कक्षा–११ र १२ सञ्चालन गरिएको त्यस विद्यालयमा विवाहित महिलालाई २० प्रतिशत छुट दिने व्यवस्थासमेत गरिएको जनाइएको छ । चन्दा सङ्कलनबाटै सञ्चालन गरिएको विद्यालय भएपनि कक्षा–११ र १२ का विद्यार्थीका लागि पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
वि.सं. २०७९ बाट कक्षा–११ र १२ को कक्षा शुरु गरिएको विद्यालयमा अर्थशास्त्र, नेपाली, बालविकास र सिकाइ तथा शिक्षा र विकास ऐच्छिक विषय अध्यापन गराउने गरिएको शिक्षक धनचन्द्र राईले जानकारी दिनुभयो । विद्यालय कर्मचारी र सहयोगीसहित १६ जना शिक्षक÷कर्मचारीको भरमा सञ्चालन भइरहेको त्यस विद्यालयमा कक्षा–११ र १२ अध्यापनका लागि एकजनामात्र निजी शिक्षक नियुक्त गरिएको जनाइएको छ ।
विद्यार्थी सङ्ख्या र अभिभावकको माग अनुसार कक्षा–१० सम्म पढाइ हुँदै आएको कालिका माविलाई नगरपालिकाले कक्षा–११ र १२ सञ्चालनका लागि अनुमति दिए पनि अहिलेसम्म नगरपालिकाबाट प्राप्त हुने सेवासुविधा नपाएको प्रधानाध्यापक प्रकाश राईले जानकारी दिनुभएको छ । त्यस विद्यालयमा दरबन्दी रहेको माध्यमिक तहका अङ्ग्रेजी शिक्षक मनकाजी राईलाई तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले काजमा वडा नं. १५ विजयखर्कको मालास्थित पञ्चकन्या माध्यमिक विद्यालयमा सरुवा लगेको र अहिलेसम्म नफर्काइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शिक्षा नियमावली बनाएरै कार्यान्वयनमा ल्याउने तयारी थालेको शिक्षा समिति संयोजक एवम् नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । पहिलो चरणमा सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम सबै सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी प्रक्रिया थालिएको नगरपालिकाले जनाएको छ ।